गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २४ गते । काठमाडौँ उपत्यकामा गुड्ने करिब ३८ प्रतिशत सार्वजनिक सवारी वायु प्रदूषणको मापदण्डविपरीत गुडिरहेको पाइएको छ । ती सवारीले तोकिएको मापदण्डभन्दा दोब्बर प्रदूषणयुक्त हानिकारक कालो धुवाँ फालिरहेका कारण पनि उपत्यकाको चिसो मौसममा वायु प्रदूषण तीव्र भइरहेको वातावरण विभागको दाबी छ ।
विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार बबरमहल क्षेत्रमा गरेको संयुक्त छड्के जाँचमा ३३ प्रतिशत सवारी मापदण्डविपरीत पाइएपछि कारबाही गरिएको छ । ३७ वटा सवारी जाँच गर्दा १२ वटा सवारी मापदण्डविपरीतका भेटिए, जसले अस्वाभाविक धुवाँ फाल्ने र वातावरण प्रदूषण गर्दै आएका छन् ।
बुधबार जाँच गरिएकामध्ये अधिकांश हायस र साना चारपाङ्ग्रे सवारी रहेका छन् । ठुला सवारीभन्दा साना सवारी वातावरणीय प्रदूषणको मापदण्डविपरीत चलिरहेको विभागले जनाएको छ । विभागका अनुसार सामान्यतया स्मोक डेन्सिटी अर्थात् धुवाँको घनत्व बढीमा ६५ सम्म हुनु पर्छ तर जाँचमा धुवाँको घनत्व ९८ सम्म हुने गरेको विभागकी मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठले बताउनुभयो ।
विभागले यस वर्ष १४९ वटा सवारीमा जाँच गरको छ, जसमध्ये ६५ वटा सवारी वातावरणीय मापदण्डविपरीत भेटिए । यो करिब ३८ प्रतिशत हो । विभागकी इन्जिनियर श्रेष्ठले भन्नुभयो, “विगतमा पनि प्रदूषण गर्ने गाडीहरूको अवस्था यस्तै थियो । यसमा खासै सुधार देखिएन । जाँच गरे पनि पाँच सय, हजार रुपियाँको चिट त काट्छ नि भनेर बेवास्ता गरेको पनि देखिन्छ तर राम्रो कन्डिसनमा राखे आफ्नै गाडी सुरक्षित हुन्छ भन्ने कुरामा कमैले ध्यान दिएको पाइन्छ ।”
समयमै सवारी मर्मत नगर्ने तथा तोकिएको मापदण्ड कार्यान्वयन नगर्दा उपत्यकामा वातावरणीय प्रदूषणलाई टेवा पुगिरहेको छ । सवारीधनीले यातायात कार्यालयबाट ‘भेहिकल फिट्नेस’ को प्रमाणपत्र (स्टिकर) लिनु पर्छ तर धेरैमा यस्तो स्टिकर लिन नजाने प्रवृत्तिले रहेको पाइन्छ । प्रदूषणको मापदण्डविपरीत चलिरहेका सवारी अन्यको तुलनामा दुर्घटनाको जोखिममा पनि हुने गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भन्नुभयो, “प्रदूषणयुक्त गाडीले अन्य गाडी, चालक र सहचालकलाई पनि असर गर्छ । त्यस्ता गाडी दुर्घटनाको जोखिममा पनि हुन्छन् ।”
सवारी साधनको नियमित प्रदूषण जाँच नहुनु पनि अर्को समस्या रहेको विभागको दाबी छ । विभागले स्रोतसाधनको अभावका कारण वर्षभरी जाँच गर्न नसक्ने बताएको छ । काठमाडौँ महानगरपालिकाले पनि निरन्तर जाँच गर्न सकिरहेको छैन । काठमाडौँ उपत्यकाबाहिरका सहरमा जाँच हुन नसकिरहेको विभागले जनाएको छ ।
विभागका अनुसार वातावरणीय प्रदूषणले मानव स्वास्थ्यमा विशेष गरी वृद्धवृद्धा, गर्भवती महिला र बालबालिकालाई प्रतिकूल असर गरिरहेको हुन्छ । वातावरणीय प्रदूषण बढ्दै जाँदा मुटुरोग, क्यान्सर, दम, खोकी, एलर्जी, फोक्सोमा असर जस्ता गम्भीर रोग लाग्दछ । वायु प्रदूषणको मुख्य कारण हावामा ठोस कण र हानिकारक ग्यासहरू मिसिनु हो । सवारी साधन, कलकारखाना, धुलो, परागकण र जङ्गलमा लागेको आगो आदिबाट निस्कने धुवाँका कारण वायु प्रदूषण हुने गर्दछ ।
बुधबार मात्रै काठमाडौँको रत्नपार्क, शङ्खपार्क, भक्तपुर, धुलिखेललगायत स्थानमा वायु प्रदूषणको मापदण्ड ‘रेडजोन’ मा छ । ती स्थानमा वायु प्रदूषण तोकिएको मापदण्डभन्दा माथि छ ।