• २५ पुस २०८२, शुक्रबार

अवैध उत्खनन गर्नेलाई १ लाख ३० हजार जरिवाना

blog

सुजन काफ्ले                                  

चरीकोट, पुस २३ गते । प्राकृतिक स्रोतको अवैध दोहन रोक्न जिल्ला प्रहरी कार्यालय दोलखा सक्रिय भएको छ । जिल्लाको विभिन्न स्थानका खोला तथा नदी किनारमा मापदण्ड विपरित हुने ढुङ्गा, बालुवा उत्खनन् र ओसारपसारलाई लक्षित गर्दै प्रहरीले सक्रियता बढाएको हो।

​प्रहरीले भीमेश्वर नगरपालिकाको चरङ्गे खोला र बैतेश्वर गाउँपालिकाको तामाकोशी बगरमा प्रहरी टोलीले अवैध कार्यमा संलग्न सवारी साधनहरूलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । तामाकोशी नदी बगरमा रातको समयमा लुकिछिपी मापदण्ड विपरीत बालुवा र ढुङ्गा उत्खनन गरिरहेको ना १ क ७६१३ नम्बरको एक्साभेटरलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

अवैध उत्खननमा संलग्न उक्त मेसिनलाई जिल्ला समन्वय समितिले एक लाख रुपियाँ जरिवाना गराएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो।

भीमेश्वर नगरपालिका वडा ८ स्थित चरङ्गे खोलाबाट अवैध रूपमा ढुङ्गा लोड गरी लैजाँदै गरेको बा ५ ख ४५०३ नम्बरको ट्रिपरलाई प्रहरीले फेला पारेको थियो। उक्त ट्रिपरलाई नियन्त्रणमा लिई जिल्ला समन्वय समितिमार्फत ३० हजार रुपियाँ जरिवाना गराइएको उहाँले बताउनुभयो ।