• २५ पुस २०८२, शुक्रबार

मन्त्री घिसिङको विशेष पत्रकार सम्मेलन : ११५ दिनका उपलब्धि सार्वजनिक

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २३ गते ।जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ऊर्जा मन्त्रालयको सभाहलमा अहिले आकस्मिक रुपमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ ।

जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिनु भएको छ ।

उहाँले ११५ दिनको कार्यकालपछि बुधबार साँझ पदबाट राजीनामा दिएको जानकारी दिँदै आफू पदमा नरहे पनि देश र जनताको पक्षमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। राजीनामापछि सार्वजनिक सम्बोधनमार्फत उहाँले यो निर्णय भाग्ने वा जिम्मेवारीबाट विमुख हुने नभई आत्मसम्मान, नैतिकता र सिद्धान्तप्रतिको प्रतिबद्धताबाट प्रेरित रहेको स्पष्ट गर्नुभयो।

मन्त्री घिसिङले सम्माननीय प्रधानमन्त्रीको अनुरोध र जेन–जी आन्दोलनको चाहनाअनुसार जिम्मेवारी स्वीकार गरेको उल्लेख गर्दै विश्वासका लागि प्रधानमन्त्री, आन्दोलनमा संलग्न युवा पुस्ता तथा सम्पूर्ण नेपाली जनताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले पदभन्दा सिद्धान्त ठूलो र सरकारभन्दा जनता माथि हुने धारणा राख्नुभयो।

राजनीतिक रूपमा आफू कुनै पनि दलको औपचारिक सदस्य नरहेको स्पष्ट पार्दै उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा नाम उल्लेख भए पनि सो सहमति कार्यान्वयनमा नआएको जानकारी दिनुभयो। राजीनामापछि पदमा ‘आफ्नो मान्छे’ नियुक्त गर्न दबाब दिएको भन्ने प्रचारलाई उहाँले भ्रामक भन्दै खण्डन गर्नुभयो।

कार्यकालका उपलब्धि सार्वजनिक गर्दै मन्त्री घिसिङले सर्लाही र रौतहटमा २२ हजार ५०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न ५०० डिप ट्युबवेल निर्माणका लागि सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड स्थापना गर्ने निर्णय भएको जानकारी दिनुभयो। रानीजमरा कुलरिया जस्ता बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने जलविद्युतमा कृषक सहभागिता सुनिश्चित गर्न व्यवस्थापन कम्पनी गठनसम्बन्धी नीतिगत प्रक्रिया अघि बढेको बताउनुभयो।

ऊर्जा क्षेत्रतर्फ नेपाल–भारतबीच इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन संयुक्त लगानीमा निर्माण गर्न सम्झौता सम्पन्न भएको र सन् २०३० सम्म थप करिब ५ हजार मेगावाट विद्युत आयात–निर्यात सम्भव हुने वातावरण बनेको उल्लेख गर्नुभयो। नेपालबाट बंगलादेशलाई थप २० मेगावाट विद्युत निर्यात गर्ने सहमति पनि भएको छ।

जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाको पुनर्निर्माण तीव्र बनाइएको जानकारी दिँदै सामान्य क्षति भएका १४० भवन पुनर्निर्माण सम्पन्न भइसकेको र आंशिक तथा पूर्ण क्षति भएका संरचनाको पुनर्निर्माण प्रक्रिया अघि बढेको बताउनुभयो। कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत भई पहिलो चरणको निर्माण सम्पन्न भइसकेको जानकारी पनि दिइएको छ।

यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको उपस्थिति मैदानमै देखिएको उल्लेख गर्दै समयमै जोखिम पूर्वानुमान र तयारीका कारण ठूलो जनधनको क्षति हुन नपाएको उहाँको भनाइ छ। साथै १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलसहित सडक, सिँचाइ र शहरी विकास मन्त्रालयअन्तर्गत करिब ३० अर्ब रुपैयाँ बराबरका रुग्ण ठेक्का तोडेर पुनः निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

लोडसेडिङको समयमा विद्युत उपभोग गर्ने उद्योगबाट उठ्नुपर्ने बक्यौता महसुल असुली सुरु गरिएको, बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, मेलम्ची खानेपानी, कोदारी सडक सञ्चालन तथा बीपी राजमार्ग अस्थायी सञ्चालन जस्ता समस्या समाधान गरिएको उहाँले उल्लेख गर्नुभयो।

मन्त्री घिसिङले विकास आयोजनाको स्थलगत अनुगमन र प्रत्यक्ष संवादलाई प्राथमिकता दिइएको भन्दै मुग्लिन–नागढुंगा, सूर्यविनायक–धुलिखेल, नारायणघाट–बुटवल र हुलाकी राजमार्गअन्तर्गत कमला पुलजस्ता आयोजनाले गति लिएको बताउनुभयो।

उहाँले व्यक्ति परिवर्तन भए पनि सही नीति, सोच र जनताको चाहना कहिल्यै नरोकिने विश्वास व्यक्त गर्दै उज्यालो नेपाल निर्माणका लागि सशक्त राजनीतिक यात्रामा होमिने घोषणा गर्नुभयो।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा रहेर राजनीतिक दल खोलेको, राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति भइसकेपछि पनि पार्टीको सदस्य नरहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएसँगै घिसिङको विरोध भएको थियो । उहाँले पुस २४ बाटै राजनीतिमा सक्रिय हुने बताउनु भएको छ ।