गोरखापत्र अनलाइन
काठमाडौँ, पुस २३ गते । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना हुँदा तीनजनाको निधन भएको छ ।
आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्गलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा४ख ८७८८ नम्बरको महानगर यातायात बस दुर्घटना भएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण धितालका अनुसार घटनामा दुई महिला र एक पुरुषको निधन भएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ ।
अर्को गाडीलाई उछिन्ने क्रममा गाडी दुर्घटनामा परी रुखमा अड्केको जानकारी उहाँले दिनुभयो । गाडीलाई क्रेनले निकाल्ने प्रयास भइरहेको छ ।
यसैगरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भन्नुभयो, “बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ । घटनास्थलबाट सबैलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ । बस घटनास्थलमै रहेको र अन्य विवरण आउन बाँकी छ ।”
उक्त बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताउनुभयो ।