• २४ पुस २०८२, बिहिबार

यी हुन् प्रमुख दलका राष्ट्रिय सभा उम्मेदवार

blog

नेकपा (एमाले)को तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशबाट मिनासिं रखाल बुधबार प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनुहुँदै । तस्बिरः हेमन्त केसी/रासस

काठमाडौँ, पुस २३ गते। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ। राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।

आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ। आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन्।

कांग्रेसका नौ उम्मेदवार : सुनिल थापादेखि खम्मबहादुर खातीसम्म 

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले संसदीय समितिले सिफारिस गरेका उम्मेदवारलाई अनुमोदन गरेको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजै बसेको संसदीय समितिको बैठकले उम्मेदवार मनोनयनको निर्णय गरेको र त्यसलाई कार्यसम्पादन समितिले अनुमोदन गरेको हो।


बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपाङ्गता–अल्पसङ्ख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला) तथा गण्डकी प्रदेशबाट जगत् तिमिल्सिना (अन्य) लाई उम्मेदवार कायम गरेको छ।

यसैगरी, लुम्बिनी प्रदेशबाट वासुदेव जङ्गली (अपाङ्गता–अल्पसङ्ख्यक) र चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललितजङ्ग शाही (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य) लाई उम्मेदवार बनाइएको छ।

एमालेका आठ उम्मेदवार : लुम्बिनीबाट  रामकुमारी झाक्री 

 नेकपा (एमाले) का आठ जनाले राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। 

एमाले महासचिव शङ्कर पोखरेलका अनुसार एमालेको तर्फबाट लीला भण्डारी (सुदूरपश्चिम), मीना रखाल (कर्णाली), रामकुमारी झाक्री (लुम्बिनी), सम्झना देवकोटा (गण्डकी), प्रेम दङ्गाल (बागमती), रेखा झा (मधेश), रोशनी मेचे (कोशी), र सोम पोर्तेल (कोशी) रहनु भएको छ। उहाँहरूले आज आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ। 


नेकपाका उम्मेदवार

नेपाली कम्युनिष्ट पार्टीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उम्मेद्वारको टुङ्गो लगाउनुभएको हो। 

नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने, मधेसबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झाको नाम टुङ्गो लगाएको संयोजक दाहालका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। 

यसैगरी, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, बृहस्पति, अधिकारी र सर्जन बिक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको हो।

अध्यक्ष ठाकुरद्वारा  उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ। 

निर्वाचन कार्यालय मधेस प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको हो। 


जनता समाजवादी पार्टी नेपाल र लोसपाबीच पार्टी एकताको निर्णय भइसकेको छ। मधेस प्रदेशमा चारवटा सिटको लागि उम्मेदवारी दर्ता हुँदैछ। 

दलित, अल्पसंख्यक/अपाङ्ग, महिला र अन्य सिटमा निर्वाचन हुँदैछ। मधेस प्रदेशमा प्रदेशसभातर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरी ३७० जना मतदाता छन्।