ज्ञानु पंगेनी
मध्यविन्दु, पुस २३ गते । देवचुली नगर अस्पतालमा शव परीक्षण (पोष्टमार्टम) सेवा सुरु हुने भएको छ । नवलपुरको देवचुली नगरपालिकाले केही दिन अघि मात्रै उद्घाटन गरेको नव निर्मित अस्पताल भवनबाट शव परिक्षण सेवा सुरु गर्न लागिएको हो ।
आँउदो माघ महिनाबाट शव परीक्षण सेवा सुरु हुने देवचुली नगर अस्पतालका प्रमुख डा. कमलराज न्यौपानेले जानकारी दिनुभयो । "हामीले अहिले तयारी गरिरहेका छौँ । आवश्यक पर्ने थप दुई जना जनशक्ति ( कार्यालय सहयोगी ) नियुक्त गरेर अहिले तालिम लिइरहनुभएको छ । उहाँहरु तालिम लिएर आएपछि सेवा सुरु हुन्छ," डा. न्यौपानेले भन्नुभयो ।
नगर अस्पताल बन्नु अघि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रकै रुपमा रहँदा यहाँ शव परिक्षण सेवा सञ्चालन हुँदै आएको थियो । २०७७ सालमा उक्त सेवा बन्द भएको थियो । कावासोतीको डण्डामा मध्यविन्दु जिल्ला अस्पताल स्थापना भएपछि जिल्ला अस्पतालमा शव परिक्षण सेवा सुरु गरियो । त्यसपछि यहाँको सेवा बन्द भएको थियो । स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नत्ति गरेपछि पाँच वर्ष पछि पुन : शव परिक्षण सेवा सुरु हुन लागेको हो ।
शव परिक्षण सेवाका लागि आवश्यक जनशक्ति र सामग्रीको व्यवस्थापन पालिकाले गरेको नगर प्रमुख हरि प्रसाद न्यौपानेले बताउनुभयो । देवचुली नगर अस्पतालबाट शव परिक्षण सेवा सुरु गरेपछि जिल्लाको पहाडी पालिका हुप्सेकोट , बौदीकाली , बुलिङटार गाउँपालिका तथा , गैंडाकोट र कावासोती नगरपालिकाको केही वडाका बासिन्दालाई समेत पायक पर्ने नगर प्रमुख न्यौपानेले बताउनुभयो। नवलपुर जिल्ला भौगोलिक रुपमा विविधता भएको जिल्ला भएको हुँदा पहाडी पालिकाका बासिन्दालाई मध्यविन्दु प्रादेशिक अस्पतालसम्म पुग्न अपायक थियो । अब देवचुलीमा यो सेवा सुरु गरेपछि सहज हुने न्यौपानेले बताउनुभयो ।
सेवा सुरु गर्न आवश्यक पर्ने सामग्री तथा शव राख्ने दुई वटा फ्रिज पालिकाले खरीद गरिसकेको देवचुली स्वास्थय शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभयो । पालिकाले अस्पताल प्रहरी माग गरेको र प्रहरी नियुक्त भएपछि सबै प्रकृया पुरा गरि सेवा सुरु गरिने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।