• २४ पुस २०८२, बिहिबार

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न चीनको सहयोग माग

blog

दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङ ।

साङ्घाई, पुस २३ गते । दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसमक्ष उत्तर कोरियाको आणविक हतियार कार्यक्रम नियन्त्रणमा लिन सहयोग गर्न आग्रह गर्नु भएको छ । 

उहाँले सही परिस्थितिमा प्योङयाङको सामूहिक विनाशका हतियार विकासलाई ‘स्थगन (फ्रिज)’ गर्न सकिने सम्भावना रहेको धारणा पनि राख्नु भएको छ । लीको यो भ्रमण छ वर्षपछि कुनै दक्षिण कोरियाली राष्ट्रपतिले चीनमा गरेको पहिलो औपचारिक भ्रमण हो ।

सियोलले यस अवसरलाई चीनसँगको सम्बन्ध पुनः स्थापना गर्नुका साथै उत्तर कोरियासँग जटिल बन्दै गएको परिस्थितिमा कूटनीतिक सहयोग खोज्ने प्रयत्नका रूपमा लिएको छ । चीन दक्षिण कोरियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार पनि हो । आणविक हतियार सम्पन्न उत्तर कोरियाले जापान सागरमा दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि सोमबार राष्ट्रपति लीले बेइजिङमा राष्ट्रपति सीसँग भेट गर्नु भएको थियो । 

भेटपछि भ्रमण सम्पन्न गर्दै साङ्घाईमा पत्रकारसँग कुरा गर्दै उहाँले प्योङयाङलाई पुनः वार्ताको टेबलमा फर्काउन चीनले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनु भयो । “मैले राष्ट्रपति सीसँग कोरियाली प्रायद्वीप, विशेष गरी उत्तर कोरियाको आणविक कार्यक्रम सम्बन्धी विषयमा चीनले मध्यस्थ कर्ताको भूमिका निर्वाह गर्न सक्नेबारे छलफल गरेको छु”, लीले भन्नु भयो । 

उहाँका अनुसार हाल उत्तर कोरियासँग संवादका सबै औपचारिक च्यानल पूर्णरूपमा अवरुद्ध अवस्थामा छन् । “हामी चीनले शान्तिका लागि प्रभावकारी मध्यस्थको भूमिका खेलोस् भन्ने आशा राख्छौँ”, उहाँको भनाइ थियो । राष्ट्रपति लीका अनुसार राष्ट्रपति सीले दक्षिण र उत्तर कोरियाबिचको सम्बन्ध बिग्रनुका कारणबारे प्योङयाङप्रति ‘धैर्य’ देखाउन सियोललाई आग्रह गर्नु भएको थियो । 

यस सन्दर्भमा लीले विगत लामो समयसम्म दक्षिण कोरियाले उत्तर कोरियाले खतरा ठान्ने खालका सैन्य गतिविधि सञ्चालन गर्दै आएको स्वीकार गर्नु भयो । राष्ट्रपति लीले प्योङयाङलाई केही प्रकारको ‘क्षतिपूर्ति’को बदलामा आफ्नो आणविक कार्यक्रम स्थगित गर्न सकिने प्रस्तावसमेत अघि सार्नु भएको छ । उहाँका अनुसार हालको अवस्थामा उत्तर कोरियाले आणविक हतियारको थप उत्पादन नगर्ने, विदेशमा आणविक सामग्री हस्तान्तरण नगर्ने र अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम)को थप विकास नगर्ने प्रतिबद्धता जनाउनु नै प्रारम्भिक रूपमा फाइदाजनक हुन सक्छ ।

“दीर्घकालीन रूपमा भने हामीले आणविक हतियार मुक्त कोरियाली प्रायद्वीपको लक्ष्य कहिल्यै त्याग्नु हुँदैन”, उहाँले स्पष्ट गर्नु भयो । उत्तर कोरियाले आफूलाई पटक-पटक ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्दै आएको छ र दुई कोरियाबिचको सम्बन्ध पछिल्ला वर्षमा अत्यन्तै खराब अवस्थामा पुगेको छ । राष्ट्रपति लीका पूर्ववर्तीलाई गत वर्ष असफल रूपमा सैन्य शासन लागु गर्न खोजेको आरोपमा पदबाट हटाइएको थियो, जसका लागि प्योङयाङलाई उक्साउने प्रयास गरिएको आरोपसमेत लागेको थियो ।

यसैबिच, सोमबार उत्तर कोरियाले आफ्ना आणविक शक्ति युद्धका लागि तयार अवस्थामा रहेको दाबी गर्दै हालै विश्वमा देखिएको ‘भू-राजनीतिक सङ्कट’ माथि नजिकबाट निगरानी गरिरहेको जनाएको छ । उक्त टिप्पणी विशेष गरी भेनेजुएलामा हालै भएको अमेरिकी सैन्य आक्रमणलाई सङ्केत गर्दै गरिएको मानिन्छ ।

उत्तर कोरियाली नेतृत्वका लागि यस्ता अन्तर्राष्ट्रिय घटना क्रम अत्यन्तै भयावह मानिन्छन्, किनकि प्योङयाङले लामो समयदेखि अमेरिकाले सैन्य शक्ति प्रयोग गरेर आफ्नो शासन ढाल्न खोजिरहेको छ भन्ने गहिरो शङ्का राख्दै आएको छ । यही कारण देखाउँदै उत्तर कोरियाले दशकौँदेखि आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई अमेरिकी दबाब विरुद्धको प्रतिरक्षाका रूपमा औचित्य दिँदै आएको छ ।

हालका वर्षमा उत्तर कोरियाले मिसाइल परीक्षण उल्लेखनीय रूपमा बढाएको छ । विश्लेषकका अनुसार यस अभियानको उद्देश्य प्रहार क्षमतामा सुधार गर्नु, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियामाथि दबाब सिर्जना गर्नु तथा सम्भावित रूपमा रुस जस्ता मुलुकमा निर्यात गर्नु अघि हतियारको परीक्षण गर्नु हो । रासस/एएफपी