• २४ पुस २०८२, बिहिबार

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस–एमालेबाट तीन जनाको उम्मेदवारी

blog

उम्मेदवारी दर्ता गराउनु भएका कांग्रेस–एमालेका उम्मेदवार।तस्बिरः लिलाधर वली

घोराही, पुस २३ गते। राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमालेबाट तीन जनाको उम्मेदवारी परेको छ। 

राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सहमति अनुसार कांग्रेसबाट चन्द्र केसी, बासुदेव घिमिरे ‘जंगली’ र एमालेबाट रामकुमारी झाक्रीको उम्मेदवारी परेको हो। 

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दाङको लमही नगरपालिका–२ निवासी घिमिरेले अपाङ्ग, केसीले अन्य  र झाक्रीले महिला कोटामा उम्मेदवारी दर्ता गराउनु भएको हो।  

घिमिरेको प्रस्तावमा दाङको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री र समर्थकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी रहनु भएको छ। 

गुल्मी रेसुङ्गा नगरपालिका–३ निवासी केसीको प्रस्तावकमा दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, गुल्मी मदानी गाउँपालिका निवासी झाक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख  नरुलाल चौधरी र समर्थकमा घोराहीकै उपप्रमुख हुमा कुमारी डिसी रहनु भएको छ। उम्मेदवारी दर्ताका लागि कांग्रेस( एमालेका  संयुक्त उम्मेदवार र्यालीसहित निर्वाचन अधिकृतको कार्यालय जानु भएको थियो।

र्‍यालीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व  मुख्यमत्री डिल्लीबहादुर चौधरीलगायतका कांग्रेस(एमालेका नेता कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको  थियो।