दुबई (संयुक्त अरब इमिरेट्स), पुस २३ गते । साउदी अरेबियाले बुधबार यमनका एक प्रमुख पृथकतावादी नेता दक्षिणी यमनको भविष्यबारे वार्ताका लागि राज्यको यात्रा गर्ने भन्दै अज्ञात स्थानतर्फ ‘भागेको’ दाबी गरेको छ । साउदी पक्षका अनुसार उक्त घटनाले यमनमा बढ्दै गएको राजनीतिक तथा सैन्य तनावलाई अझ स्पष्ट बनाएको छ ।
यमनमा साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मल्कीले जारी गर्नु भएको वक्तव्यमा संयुक्त अरब इमिरेट्स (युएई) द्वारा समर्थित दक्षिणी ट्रान्जिसनल काउन्सिल (एसटिसी) र यमन सरकारबिचको पछिल्लो तनावपूर्ण अवस्थालाई उल्लेख गरिएको छ । उहाँका अनुसार काउन्सिलका अध्यक्ष एडारोस अल-जुबैदी साउदी अरेबियाको उडानमार्फत वार्ताका लागि जान लाग्नु भएको थियो ।
तर काउन्सिलका अन्य अधिकारी उडानमा सहभागी भए पनि अल-जुबैदी भने अन्तिम समयमा उडानमा नचढेको साउदी पक्षको भनाइ छ । प्रवक्ता अल-मल्कीले भन्नु भयो, “वैध सरकार र गठबन्धनले अल-जुबैदीले बख्तरबन्द सवारी साधन, लडाकू सवारी, भारी तथा हल्का हतियार र ठूलो मात्रामा गोलाबारुदसहितको सैन्य परिचालन गरिरहेको सङ्केत गर्ने खुफिया जानकारी प्राप्त गरेका थिए ।” उहाँका अनुसार सोही सूचनापछि अल-जुबैदी ‘अज्ञात स्थानतर्फ भाग्नु भएको’ थियो ।
एसटिसीका तर्फबाट भने यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । काउन्सिलका अधिकारी सम्पर्कमा नरहेको जनाइएको छ । पछिल्ला हप्तामा साउदी अरेबियाले एसटिसीका विभिन्न ठेगानामा हवाई आक्रमण गरेको र ती क्षेत्रमा एमिराटी हतियारको ढुवानी भइरहेको दाबी गरेको थियो । साउदी पक्षको बढ्दो दबाब र यमनबाट हुथी विरोधी फौज फिर्ता लिन अल्टिमेटम दिइएपछि संयुक्त अरब इमिरेट्सले शनिबार आफ्ना सैनिक फिर्ता लिएको जानकारी दिएको छ ।
यमनमा बढ्दो तनावले साउदी अरेबिया र युएईबिचको सम्बन्धलाई थप चिस्याएको देखिन्छ । विशेष गरी लाल सागर क्षेत्रको प्रभाव र रणनीतिक नियन्त्रणका विषयमा अरब प्रायद्वीपका यी छिमेकी मुलुक आर्थिक मुद्दा र क्षेत्रीय राजनीतिमा प्रतिस्पर्धी रहँदै आएका छन् ।
यद्यपि, साउदी अरेबिया र युएई दुवैले सन् २०१४ देखि यमनको राजधानी सानामा नियन्त्रण जमाउँदै आएका इरानी समर्थित हुथी विद्रोही विरुद्ध लड्ने साझा लक्ष्य रहेको दाबी गर्दै आएका छन् । तर यमनको आन्तरिक शक्ति सङ्घर्ष र पृथकतावादी गतिविधिले उक्त गठबन्धनभित्रकै मतभेद र अविश्वासलाई उजागर गरिरहेको विश्लेषक बताउँछन् । रासस/एपी