फडिन्द्र अधिकारी
लेखनाथ, पुस २३ गते । राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा एकल उम्मेदवारी दिएको छ । बुधबार जनमोर्चाले अन्य समूहबाट कास्कीका शङ्कर बराल र महिलाबाट बागलुङकी लक्ष्मी बास्कोटाको उम्मेदवारी दर्ता गराएको हो ।
प्रदेशमा जनमोर्चाका चार मतदाता छन् । प्रदेशसभा सदस्य नरहेको जनमोर्चाका चार पालिका प्रमुख, उपप्रमुख छन् । गएको स्थानीय तह निर्वाचनमा जनमोर्चाले जैमिनी नगरपालिकाको प्रमुख, बरेङ गाउँपालिका अध्यक्ष र बडिगाड र काठेखोला गाउँपालिकामा उपाध्यक्षमा जितेको थियो । प्रदेशमा जनमोर्चाको मतभार ७६ छ ।
उहाँहरूको प्रस्तावकका जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन र समर्थकमा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा हुनु हुन्छ । गण्डकीमा नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरी साझा उम्मेदवार उठाउने निर्णय गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एकले उम्मेदवारी दर्ता गराउने निर्णय गरेको छ ।
राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका बमोजिम आज देशका सातै प्रदेशमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दै छन् । गण्डकीमा कुल मतभार छ हजार तीन सय ५७ छ । यहाँ प्रदेशसभाका ५९ सदस्यको मतभार तीन हजार एक सय २७ हुन्छ भने स्थानीय तहका प्रतिनिधिको तीन हजार दुई सय ३० गरी कुल मतभार छ हजार तीन सय ५७ छ । गण्डकीको ६० सदस्यीय प्रदेशसभामा एक सदस्य रिक्त छ ।