काठमाडाैँ, पुस २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पार्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उहाँले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्ट पार्नु भएको हाे ।
बुधबार नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताउनु भयो । आफूले निर्वाचनमा उठ्नका लागि कुनै पनि पार्टीसँग छलफलसमेत नगरेको विषयलाई लिएर सञ्चार माध्यामहरूले झुटो समाचार सम्प्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।
उहाँले भन्नु भयो, "म यहाँहरूलाई आज स्पष्ट पार्न चाहन्छु, मैले अहिलेसम्म चुनावमा उठ्ने वा नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन । दोस्रो कुरा यहाँहरूलाई म स्पष्ट पार्न चाहन्छु म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन । वार्ता वा छलफल गरेको छैन । आउँछु पनि भनेको छैन । जान्छु भनेको छैन । मैले केही पनि भनेको छैन । मेरो अहिले सम्पूर्ण ध्यान यो अन्तरिम सरकारको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान चुनाव गराउन रहेको छ । आजको दिन यो मितिसम्म म कुनै पनि पार्टीमा गएको पनि छैन । चुनाव उठछु वा उठदिन केही पनि भनेको छैन । तर समाचार अलिकति फरक ढङ्गले आइरहेको छ । त्यसप्रति मेरो आपत्ति केही पनि छैन । तर सही समाचार चाहीँ आज म तपाईंहरू मार्फत भन्छु मैले चुनाव उठ्ने अथवा नउठ्ने निर्णय गरेको छैन ।"
मन्त्री खरेलले मुलुक निर्वाचनमा होमिएकाले संवेदनशील भएर सही समाचार मात्रै सम्प्रेषण गर्न पनि सञ्चार माध्यमलाई आग्रह गर्नु भयो ।