जयकृष्ण यादव
इनरुवा, पुस २३ गते । सुनसरीमा अगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाँच लाख ८० हजार ९४५ मतदाता मतदान गर्ने भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
गत निर्वाचनमा कुल पाँच लाख ४४ हजार ९ सय ४१ मतदाता रहेकोमा यस पटक ३६ हजार चार जना मतदाता थपिएकोले पाँच लाख ८० हजार ९४५ मतदाता मतदान गर्ने भएको हो ।
कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा क्षेत्र नम्बर २ मा सर्वाधिक एक लाख ५८ हजार ९१० जना मतदाता रहेका छन्। यस क्षेत्र अन्तर्गत प्रदेश सभा तर्फ (१) मा इटहरी उपमहानगरपालिकाको विभिन्न १० वटा वडा, रामधुनी नगरपालिकाको दुई वटा वडा र प्रदेश सभा (२) मा इनरुवा नगरपालिकाको विभिन्न ६ वटा वडा, देवानगन्ज गाउँपालिकाका सबै वडा, रामधुनी नगरपालिकाको ४ वटा वडा र हरिनगरा गाँउपालिकाको ३ नम्बर वडाबाट गरी कुल एक लाख ५८ हजार ९१० मतदाता रहेका छन् । यस क्षेत्रमा ४० स्थानमा १६७ वटा मतदान केन्द्र तोकिएको छ ।
पाैडेलले दिनुभएको जानकारी अनुसार सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा कुल एक लाख ५० हजार ३९३ मतदाता रहेका छन् । सो क्षेत्रको प्रदेश सभा (१)मा धरान उपमहानगरपालिकाको विभिन्न १५ वटा वडा र प्रदेश सभा (२) तर्फ धरानकै ५ वटा वडा, वराहक्षेत्र नगरपालिकाको ५ वटा वडा, र रामधुनी नगरपालिकाको २ वटा वडाबाट गरी कुल एक लाख ५० हजार ३९३ मतदाता सङ्ख्या रहेका छन् । यस क्षेत्रमा ४१ स्थानमा १६१ वटा मतदान केन्द्र तोकिएको छ ।
जिल्लामा सबैभन्दा कम मतदाता सङ्ख्या क्षेत्र नम्बर ३ मा रहेको कार्यालयले जनाएको छ । कार्यालयले सो क्षेत्रमा कुल एक लाख ३४ हजार ३०२ मतदाता रहेको जनाएको छ । जसमा प्रदेश (१) तर्फ इटहरी उपमहानगरपालिकाको विभिन्न १० वटा वडा, इनरुवाको वडा ७, गढी गाँउपालिकाको १ नम्बर वडा र दुहबी नगरपालिकाको ५ वटा वडा र प्रदेश सभा (२) तर्फ गढी गाँउपालिकाको ५ वटा वडा, दुहबी नगरपालिकाको ७ वटा वडा र बर्जु गाँउपालिकाका सबै सबैबाट एक लाख ३४ हजार ३०२ मतदाता सङ्ख्या छन् । यस क्षेत्रमा ४४ स्थानमा १४६ वटा मतदान केन्द्र तोकिएको छ ।
त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ को लागि एक लाख ३७ हजार ३४० मतदाता रहेको कार्यालयले जनाएको छ । यसको प्रदेश सभा (१) मा कोशी गाउँपालिका, रामधुनी नगरपालिकाको ४ नम्बर वडा र वराह नगरपालिकाको विभिन्न ६ वटा वडा छन् ।
त्यसैगरी, प्रदेश सभा (२) तर्फ इनरुवा नगरपालिकाको ३ वटा वडा, भोक्राह नरसिंह गाउँपालिकाका सबै वडा र हरिनगरा गाँउपालिकाको विभिन्न ६ वटा वडाका मतदाताले मतदान गर्ने भएका छन् । यस क्षेत्रमा ४२ स्थानमा १५० वटा मतदान केन्द्र तोकिएको छ ।