टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), पुस २३ गते । हरेक बिपद्, विपन्न र बिरामीहरूलाई सहयोग गर्दैआएको गुल्मी जिल्ला समाज युकेले पाँच लाख विभिन्न संस्था र व्यक्तिहरूलाई सहयोग गरेको छ । गुल्मी जिल्ला समाज युकेले आशा अपाङ्ग केन्द्र र सत्यवती बहुमुखी क्याम्पसलाई एक–एक लाख रुपियाँ सहयोग गरेको हो ।
त्यस्तै रेडियो पुष्पाञ्जलीलाई ५० हजार, रुरुक्षेत्र अटिजम पाठशालालाई ५० हजार, सत्यवती गाउँपालिका–४ का अशक्त इश्वर शर्मा र अनुज ज्ञवालीलाई ५०–५० हजार रुपियाँ सहयोग प्रदान गरिएको समाजले जनाएको छ ।
इस्मा गाउँपालिका–३ की बिना नेपाली र गुल्मीदरबार–५ का नेत्रबहादुर रानालाई पनि ५०–५० हजार रुपियाँ सहयोग गरिएको समाजका अध्यक्ष रुद्र थापाले जानकारी दिनु भयो ।
रेसुङ्गा नगरपालिकामा प्रमुख खिलध्वज पन्थीमार्फत समाजका अध्यक्ष थापा आफैले लाभग्राही संस्था र व्यक्तिलाई सहयोग प्रदान गर्नु भएको थियो । गुल्मीबाट युकेमा बस्ने गुल्मेलीहरूले हरेक वर्ष अपाङ्गता दिवसको अवसरमा च्यारिटी सो गरेर जम्मा गरेको रकम जिल्लाका विपन्न, बिरामी, बिपद् पीडित र अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्दै आएको गुल्मी जिल्ला समाज युकेका अध्यक्ष थापाले बताउनु भयो ।
उहाँले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूको सीपका लागि सहयोग गर्ने र अक्षयकोषमार्फत सामाजिक काम गर्ने योजना अगाडि बढाएको बताउनु भयो । इस्मा गाउँपालिका–३ की बिना नेपालका लामो समयदेखि दुवै खुट्टा र दायाँ हात चल्दैनन् । उहाँ अरूको सहारामा मात्र हिँडडुल गर्न सक्नु हुन्छ । ४२ वर्षीय नेपालीलाई आशा अपाङ्ग केन्द्रले अपाङ्गमैत्री शौचालय र खानेपानीको व्यावस्था गरिदिएको छ।
गुल्मी जिल्ला समाज युकेले ५० हजार रुपियाँ नगद सहयोग गरेपछि बिना खुसी हुनु भयो । दुर्घटनामा परेर मेरुदण्डको समस्या झेलेर बिस्तारामा रहनु भएका गुल्मीदरबार गाउँपालिका–५, अमरअर्बाथोकका २४ वर्षीय रविन रानाका बुवामार्फत समाजले आर्थिक सहयोग गरेको छ । आशा अपाङ्ग केन्द्र गुल्मीका अध्यक्ष जनार्दन घिमिरेले गुल्मी जिल्ला समाज युकेले विगतदेखिनै सहयोग गर्दै आइरहेको बताउनु भयो ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विदेशमा रहेर पनि स्वदेश र अशक्त तथा असहायलाई सहयोग गर्नु निकै महत्त्वपूर्ण काम भएको बताउनु भयो। उहाँले आफुहरूले कमाएको थोरै रकम जम्मा गरेर पनि पीडितको पीडामा मलहम लगाउन सकेकोमा समाजलाई धन्यवाद दिनु भयो ।