मकवानपुर समाचारदाता
मकवानपुर, पुस २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक सूचीमा चेपाङ समुदायका तीन जना परेका छन् । सीमान्तकृत समुदायबाट मकवानपुरका एकसहित तीन जना चेपाङ समुदायका समानुपातिक सूचीमा परेका हुन् ।
संविधान सभाका सदस्य एवं नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङले फरक तीन वटा पार्टीबाट तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा समेटिएको जानकारी दिनुभयो । उहाँले मकवानपुरको एक र चितवनमा दुई जना चेपाङ समुदायका समानुपातिक सूचीमा परेको बताउनुभयो । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र गतिशील लोकतान्त्रिक पार्टीले एक/एक जना समानुपातिकको बन्दसूचीमा राखेको छ ।
नेकपाबाट प्रतिनिधि सभा समानुपातिक सूचीमा पर्नेमा मकवानपुरको साबिक हाँडीखोला गाविस हालको मनहरी गाउँपालिका–३ स्थित सिद्धकालीका मङ्गलसिंह चेपाङ हुनुहुन्छ । एमालेबाट चितवनको कालिका नगरपालिका शक्तिखोरका सन्तबहादुर चेपाङ समानुपातिक सूचीमा पर्नुभएको छ । यस्तै नवगठित गतिशील लोकतान्त्रिक पार्टीले चितवनको राप्ती नगरपालिका कोराकका विश्वास चेपाङलाई समानुपातिक सूचीमा समेटेको छ ।
देश सङ्घीयतामा गएसँगै सीमान्तकृत चेपाङ समुदायले नीति निर्माणदेखि कार्यकारी भूमिका निर्वाह गर्नेसमेत अवसर पाएका छन् । २०६४ सालको संविधान सभा सदस्यमा एमालेले मकवानपुरका गोविन्दराम चेपाङ र तत्कालीन माओवादी गोरखाकी माया चेपाङलाई संविधान सभा सदस्य बनाएको थियो ।
यस्तै नेपाली कांग्रेसले मकवानपुरका सन्तबहादुर प्रजालाई प्रदेश सभा सदस्य हुँदै प्रदेश सरकारको जिम्मेवारीमा पु-याएको थियो । प्रदेश सभाको पहिलो कार्यकालमा सन्तबहादुर बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्नुभएको थियो । पूर्वराज्यमन्त्री सन्तबहादुरले पछिल्लो समयमा मधेशी, दलित, जनजाति, सीमान्तकृतलगायतको नाममा पहुँचवाला र प्रभावशालीले अवसर पाउनु सङ्घीयता र संविधानको भावना अनुसार नभएको बताउनुभयो । २०७८ सालको जनगणना अनुसार नेपालमा चेपाङ समुदायको जनसङ्ख्या ८४ हजार ३६४ रहेको छ ।
चितवनका सन्तबहादुर चेपाङ, विश्वास चेपाङ र मकवानपुरका मङ्गलसिंह चेपाङ ।