• २४ पुस २०८२, बिहिबार

खडेरीले सुक्न थाले हिउँदे बाली

blog

लामो समयको खडेरीले सुक्दै गहुँ । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 
बाजुरा, पुस २३ गते । 
बाजुरामा लामो समयको खडेरीले यहाँका अधिकांश ठाउँमा किसानले लगाएको हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ ।

लामो समयदेखि परेको खडेरीका कारण यहाँका किसानले कात्तिकदेखि मङ्सिरमा छरेको गहुँ र जौ बाली अहिलेसम्म पनि उम्रिन सकेको छैन । उम्रेको जौ गुहुँ पनि यतिबेला खुम्खा खडेरीले सुक्न थालेको छ ।

सिँचाइ नभएको क्षेत्रमा लगाएको हिउँदे बाली जौ गहुँ खडेरीका कारण यसरी धमाधम सुक्न हुन थालेपछि अहिले यहाँका किसान बर्खाको समय के खाने भन्दै चिन्तित हुने गरेका छन् ।

जिल्लाको बुढीगङ्गा नगरपालिकाको सेलापाखा, तिमाडा, बाहुनगाउँ र बदेडा लगायतका क्षेत्रमा हिउँदमा छरेको गहुँ जौ पानी नहुँदा अहिले सुकेर पहेँलो बनेको छ ।

बाजुरामा सिँचाइको सुविधा भएको ठाउँमा पनि पानी आकाशे पानी नपर्दा गहुँ राम्रो हुन नसकेको यहाँका किसान बताउँछन् ।
यो वर्ष हिउँदमा लामो समयसम्म पानी नपर्दा हिउँदे बाली गहुँ जौ खेती सुक्न थालेको बुढीगङ्गा नगरपालिका–१० की हीरा सार्कीले बताउनु भयो ।

उहाँले भन्नु भयो, “कात्तिक मङ्सिरमा पानी नपरे पनि पुस र माघमा पानी अवश्य पर्छ भनेर गहुँ खेती गरेको हो । तर आजसम्म पानी नपर्दा गहुँ राम्ररी नउम्रेको र उम्रेको ठाउँको गहुँ सुक्न थालेको छ ।”

यसैगरी, लामो समयसम्म यो खडेरी रहने हो भने बर्खाको समय यो क्षेत्रमा ठुलो भोकमरीको समस्या हुन सक्ने सार्कीले बताउनु भयो ।

हिमपात नहुँदा पूर्वी क्षेत्रमा रहेको जिल्लाको स्वामिकार्तिक–२, कुक्तीकोटमा अधिकांश क्षेत्रमा हिउँदमा छेरेको गहुँ अहिलेसम्म नउम्रेको स्वामिकार्तिक गाउँपालिका मुक्तीकोट स्थानीय पदम लुहारले बताउनु भयो ।

उहाँले भन्नु भयो, “यहाँ माघमा पनि हिमपात नहुँदा सुपना फ्याल गाउँ माझबाडा फैतीवाडा लगायतका क्षेत्रका गहुँ समेत सुक्न थालेका छन् ।” जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कातिर तुसारो र सुक्खायामले बाली खाएको लहुारले बताउनु भयो ।

जिल्लाका त्रिवेणी, गौमुल बडिमालिका बुढीगङ्गा र खप्तड छेडेदह लगायतका क्षेत्रमा सिँचाइ नभएको जमिनमा हिउँदे बाली सुक्न थालेका छन् । यतिबेला मङ्सिरमा, पुस र माघ महिनासम्म पनि पानी तथा हिमपात नभई खडेरी बढ्दै जाँदा यहाँका किसान चिन्तित बन्दै गएका छन् ।

गहुँ हिउँदे बाली भएकोले हिउँदमा वर्षा राम्रो भएन भने उत्पादन घट्छ भने हिउँदमा वर्षा राम्रो भएमा उत्पादन बढ्छ । अहिले पहिलेको तुलनामा उन्नत गहुँको बिउको प्रयोग बढ्दै गइरहेकाले गहुँको उत्पादन वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनु भयो ।

उहाँले भन्नु भयो, “कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत मात्रै जमिनमा सिँचाइको सुविधा छ भने ८० प्रतिशत जमिनमा अहिले पनि आकाशेभरमा खेती हुने गरेको छ । जिल्लाको उत्पादन बढाई खाद्य सुरक्षामा टेवा पुग्नका लागि सिँचाइको क्षेत्र विस्तार गर्न अति आवश्यक छ ।”

बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य जमिन छ । यसमध्ये दस हजार ४६० हेक्टर जमिनमा गहुँ खेती गरिन्छ । यसमा १७ हजार ७८२ हेक्टर जमिनमा गहुँ उत्पादन हुन्छ । बाजुरामा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्ष भरीमा सिँचाइ हुने गरेको सूचना अधिकारी साहनीले बताउनु भयो ।