लीलाधर वली
घोराही, पुस २३ गते । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा सखरखण्डको व्यापार बढ्दै गएको छ । माघे सङ्क्रान्तिमा सखरखण्ड खाने चलन रहेकाले राम्रो बिक्री हुने समेत गरेको छ ।
माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा सखरखण्ड खेती गर्ने किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्यानभ्याई रहेको छ । देउखुरीको राप्ती नदी उकास जमिनमा सखरखण्ड खेती गर्ने किसान अहिले रोपेको सखरखण्ड खन्ने र बिक्री गर्ने काममा व्यस्त रहेको राजपुर गाउँपालिका–३, खरदरियाका किसान रामछोर यादव बताउनु हुन्छ ।
समयमै खनेर बजारमा पुर्याउन सके राम्रो मुनाफा हुने भएकाले किसान सखरखण्ड खन्दै बिक्री गर्ने काम गरिरहेको बताउनु भयो । तीन बिघा जमिनमा सखरखण्ड खेती गर्नुभएका यादवले एक बिघा जमिनमा रोपेको करिब ३५ क्विन्टल सखरखण्ड बिक्री गरिसकेको बताउनु हुन्छ । बाँकी दुई बिघा जमिनमा रोपेको सखरखण्ड खन्ने काम भइरहेको भन्दै उहाँले भन्नु भयो, ‘‘खन्न सके सखरखण्ड लिनका लागि व्यापारी रोपेको ठाउँमा आउने गरेका छन्, बिक्रीका लागि समस्या छैन । व्यापारीलाई भनेको समयमा दिन सक्नु पर्छ ।’’
करिब डेढ लाख रुपियाँको सखरखण्ड बिक्री गरी सक्नु भएका यादवले यो वर्ष १०० क्विन्टल बढी उत्पादन भए तीन लाख ५० हजारसम्मको बिक्री हुने बताउनु हुन्छ । उहाँका अनुसार सेतो सखरखण्ड प्रतिकिलो ४० देखि ४५ रुपियाँ र रातो सखरखण्ड ४५ देखि ४९ रुपियाँमा बिक्री भइरहेको छ । अन्य कृषि बालीको तुलनामा कम मिहिनेत र लगानीमै राम्रो आम्दानी लिन सकिने भएपछि धेरै किसानले पछिल्लो समय सखरखण्ड खेती गर्ने गरेको अर्का किसान धर्मप्रसाद यादव बताउनु हुन्छ ।
१६ कट्ठा जमिनमा सखरखण्ड खेती गर्नभएका यादवले करिब ६० क्विन्टल सखरखण्ड उत्पादन भएको बताउनु हुन्छ । जसबाट करिब दुई लाखसम्म आम्दानी भएको बताउनु हुन्छ । उहाँका अनुसार देउखुरीका करिब ३०/३५ घर परिवारले सय बिगा बढी जमिनमा सखरखण्ड खेती गर्ने गरेका छन् । जसबाट कम मिहिनेत र लगानीमा छोटो समयमा राम्रो आम्दानी गर्ने गरेको बताउनु हुन्छ ।
देउखुरीमा उत्पादन भएको सखरखण्ड दाङका लमही, घोराही, तुलसीपुर बजारका साथै कोहलपुर र सुर्खेतसम्म पुग्ने गरेको किसान धर्मप्रसाद बताउनु हुन्छ । अन्य तरकारी जन्य उत्पादन बजारसम्म लैजानु पर्ने बाध्यता भए पनि सखरखण्ड बारीबाटै बिक्री हुने भएकाले किसानलाई खेती गर्न सहज हुने गरेको छ ।
लमही नगरपालिका कृषि शाखाका अमरकुमार चौधरीका अनुसार देउखुरीको राप्ती नदीको बगर र आसपासका क्षेत्रमा सखरखण्डको व्यवसायिक खेती हुने गरे पनि ठोस तथ्याङ्क भने नरहेको बताउनु भयो । उहाँका अनुसार छोटो समयमा कम लगानी र मिहिनेतबाट राम्रो आम्दानी लिन सकिने भएकाले लमही नगरपालिका र राजपुर गाउँपालिकाका किसानले प्रत्येक वर्ष सखरखण्ड खेती गरेर आम्दानी लिने गरेको बताउनु हुन्छ ।