• २४ पुस २०८२, बिहिबार

सप्तरीमा चार जना फरार प्रतिवादी पक्राउ

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस २३ गते । फैसला कार्यान्वयनको क्रममा सप्तरीमा विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी मङ्गलबार सप्तरी जिल्ला अदालतमा बुझाइएको हो ।

पक्राउ पर्नेमा राजगढ गाउँपालिका वडा नम्बर ४ का शिवनारायण साह रहेका छन् । उहाँलाई ठगी मुद्दामा दुई महिना कैद र तीन हजार रुपियाँ जरिवाना तोकिएको थियो । त्यसैगरी कञ्चनरूप नगरपालिका वडा नम्बर ८ का प्रदीप कार्कीले सवारी ज्यान मुद्दामा एक वर्ष नौ महिना १८ दिन कैद सजाय पाएका छन् ।

त्यस्तै रूपनी गाउँपालिका वडा नम्बर ५ का भोला यादव कुटपिट तथा लुटपाट मुद्दामा छ सय चार रुपियाँ १७ पैसा जरिवाना तथा सोही स्थानका भोलाई यादव कुटपिट मुद्दामा एक सय रुपियाँ जरिवाना तोकिएको थियो ।

पक्राउ परेका चारै जना प्रतिवादीबाट जम्मा एक वर्ष ११ महिना १८ दिन कैद तथा तीन हजार सात सय चार रुपियाँ १७ पैसा जरिवाना असुल उपर हुने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनु भयो ।