• २४ पुस २०८२, बिहिबार

गण्डकीमा राष्ट्रिय सभा चुनाव : २२९ मतदाता, ६३५७ मतभार

blog

फडिन्द्र अधिकारी
लेखनाथ, पुस २३ गते । माथिल्लो सदन राष्ट्रियसभा निर्वाचनको कार्यतालिका बमोजिम बुधबार देशका सातै प्रदेशमा उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गर्दै छन् । गण्डकी प्रदेशबाट दुई सदस्यका लागि निर्वाचन हुँदै छ । गण्डकी प्रदेशमा ५९ प्रदेशसभा सदस्य र ८५ पालिकाका प्रमुख, उपप्रमुख गरी दुई सय २९ मतदाता छन् ।  एक प्रदेश सभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिँदा गण्डकीमा कुल मतभार छ हजार तीन सय ५७ छ ।

गण्डकीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले)का भगवती न्यौपानेको कार्यकाल सकिन लाग्दा निर्वाचन हुन लागेको हो । श्रेष्ठ अन्य र न्यौपाने महिला समूहबाट निर्वाचित भएकाले सोही समूहबाट नयाँ उम्मेद्वार मनोनयन हुने छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार पद रिक्त हुनुभन्दा ३५ दिनअगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । 

यहाँ प्रदेशसभाका ५९ सदस्यको मतभार तीन हजार एक सय २७ हुन्छ भने स्थानीय तहका प्रतिनिधिको तीन हजार दुई सय ३० गरी कुल मतभार छ हजार तीन सय ५७ छ । गण्डकीको ६० सदस्यीय प्रदेशसभामा एक सदस्य रिक्त छ ।

गण्डकीमा एक्ला एक्लै प्रतिस्पर्धा हुँदा नेपाली कांग्रेस बलियो देखिन्छ । कांग्रेससँग २७ प्रदेशसभा सदस्य र ६७ पालिका प्रतिनिधि गरी दुई हजार सात सय चार मतभार छ । एमालेका २२ प्रदेशसभा सदस्य र ६८ पालिका प्रतिनिधि हुँदा उससँग दुई हजार चार सय ५८ मतभार छ । एमालेबाट निर्वाचन बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवबहादुर नेपाली निलम्बनमा पर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का यहाँ सात प्रदेश सभा सदस्य र ३१ स्थानीय तहका प्रतिनिधि गरी नौ सय ६० मतभार छ । साविक माओवादी केन्द्रकै चुनाव चिह्नबाट विजयी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा अहिले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा हुनुहुन्छ ।

गण्डकीमा पालिका प्रमुख वा उपप्रमुख नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई प्रदेशसभा सदस्य हनुहुन्छ । प्रदेश सरकारमा अहिलेको एमाले र कांग्रेसको सत्ता गठबन्धनलाई नै सघाइरहेको राप्रपा र प्रलोपाका सदस्यको मत कता जान्छ भन्ने यकिन भएको छैन ।  

दुई पालिका प्रमुख र एक उपप्रमुख जितेको राष्ट्रिय जनमोर्चाको ५७ मत छ । मनाङको मनाङ डिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्रबाट विजयी छिरिङ गुरुङ भने एमाले निकट हुनुहुन्छ ।

निर्वाचनका मतदाताको नामावली पुस १९ गते प्रकाशन भइसकेको छ भने पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तालिका छ । उम्मेद्वारको नामावली प्रकाशन बुधबारै ३ देखि ६ बजेभित्र हुनेछ भने बिहीबार उम्मेद्वारविरुद्ध उजुरी दिने समय तोकिएको छ ।

उम्मेद्वारविरुद्धको उजुरी र मनोनयनपत्रउपर जाँचबुझ गरी निर्णय लिने तालिका पुस २५ र २६ गते छ । २६ गते ३ देखि ४ बजेभित्र उम्मेदवारको नामावली प्रकाशन, २७ गते १० देखि १ बजेसम्म उम्मेद्वारी फिर्ता र सोही दिने १ देखि २ बजेभित्र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । निर्वाचनका लागि गण्डकीमा पोखरामा रहेको प्रदेश निर्वाचन कार्यालयलाई मतदान स्थल तोकिएको छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । निर्वाचन सामग्री तयार भइसकेको र कार्यतालिकाबमोजिम बुधबार मनोनयनपत्र दर्ताको तयारी भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताउनुभयो ।

केन्द्रमा बन्ने दलीय समीकरणअनुसार नै राष्ट्रियसभाका चुनाव हुने गरेका छन् । यसपालि पनि राष्ट्रिय सभाको निर्वाचनका लागि पाँच दलबीच भागबन्डा भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, लोसपा र जसपा नेपालबीच मिलेर निर्वाचन लड्ने सहमति बनेको हो ।

राष्ट्रियसभाका खाली १८ सिटमध्ये कांग्रेस र एमालेले समान सात/सात, नेकपाले तीन र जसपाले एक सिट लिने सहमति बनेको छ । कहाँ कुन दलले उम्मेद्वारी दिने भन्ने यकीन हुन बाँकी छ ।