• १६ भदौ २०८१, आइतबार

भरतपुर महानगरले महासङ्घको कोषलाई दियो २० लाख

blog

शालिग्राम नेपाल

चितवन, असार २८ गते। नेपाल पत्रकार महासङ्घ चितवन शाखाले जिल्लाका चार जना ज्येष्ठ पत्रकारलाई भत्ता वितरण गरेको छ।

मङ्गलबार भरतपुर महानगर पालिकामा आयोजित कार्यक्रमा ६० वर्ष पुगेका चितवनका चार जना पत्रकारलाई मासिक चार हजारका दरले तीन महिनाको रकम वितरण गरेको हो। 

वैशाख, जेठ र असार महिनाको १२ हजारका दरले भत्ता वितरण भएको हो। भत्ता पाउनेमा डिआर पोखरेल, मोहन पोखरेल, रेशम विरही र महेन्द्र श्रेष्ठ हुनुहुन्छ। 

पत्रकारका लागि महासङ्घले गरेको यो कार्य इतिहासमा महत्त्त्वपूर्ण भएको पत्रकार महासङ्घका सचिव सिर्जना अर्यालले बताउनुभयो। 

आगामी दिनमा भत्ताको रकम बढाएर लैजाने महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीले जानकारी दिनुभयो। महासङ्घले कोष खडा खडा गरेर भत्ताको सुरुवात गरेको हो। 

यसैबीच भरतपुर महानगरपालिकाले पत्रकार महासङ्घ  चितवनको ज्येष्ठ पत्रकार निवृत्तिभरण कोषमा २० लाख रकम सहयोग गरेको छ। 

महानगर प्रमुख रेनु दाहालले पत्रकारको लागि सम्मान गर्न सहयोग गरेको बताउनुभयो। पेसाबाट जीवनको उत्तरार्धतर्फ जाँदा सम्मान स्वरुप केही रकम प्राप्त होस् भन्दै कोषमा रकम सहयोग गरेको उहाँको भनाइ छ।