• २४ पुस २०८२, बिहिबार

दशकौंपछि बनेको घरले प्रमिलालाई दिएको खुशी...

blog

आफ्नो छोरीसहित गाउँले दिदी बहिनीहरुसँग प्रमिला चौधरी । तस्बिर सन्तोष दहित

सन्तोष दहित
दाङ, २३ पुस ।
घरविहीन जीवन, चरम आर्थिक अभाव र एकल महिलाको भारी जिम्मेवारीबिच वर्षौँदेखि संघर्ष गर्दै आउनुभएका प्रमिला चौधरीका लागि अन्ततः सुखद क्षण आएको छ । झण्डै एक दशकसम्म अरूको घरमा आश्रय लिएर बस्न बाध्य प्रमिला अहिले आफ्नै घरमा सर्न सफल हुनुभएको छ । आफ्नै आँगन टेक्दा उहाँको अनुहारमा देखिएको मुस्कानले संघर्षपूर्ण जीवनको कथा बोलिरहेको थियो ।

लठ्वा गाउँमा बसोबास गर्दै आउनुभएका प्रमिलाको परिवारसँग न घर थियो न त आफ्नै जग्गा । उहाँका श्रीमान् गम्भिस चौधरी मजदुरी गरेर परिवारको गुजारा चलाउनुहुन्थ्यो । तर मजदुरीका लागि टाढा जानुपर्ने बाध्यता र दुई छोरीको शिक्षाका लागि विद्यालय निकै टाढा परेपछि यी दम्पत्तिले गढवा गाउँपालिका–४, कट्याङ गाउँमा डेरा लिएर बस्ने निर्णय गरे । कमजोर आर्थिक अवस्थाका कारण नाजुक डेरामा बस्नुपरे पनि छोरीहरूको भविष्य सुरक्षित बनाउने उद्देश्यले पढाइलाई पहिलो प्राथमिकता दिइएको थियो ।

तर परिवारको जीवनले अप्रत्याशित मोड लियो । सानैदेखि कानको समस्याबाट पीडित गम्भिस एकाएक गम्भीर बिरामी पर्नुभयो । अस्पतालमा उपचारका क्रममा अप्रेसन गरिए पनि स्वास्थ्यमा सुधार आउन सकेन । मजदुरी गरेर जोगाएको थोरै रकम उपचारमै सकियो । अन्ततः गम्भिसको निधन भएपछि प्रमिलाको जीवन झनै कठिन बन्यो । दुई छोरीसहित परिवारको सम्पूर्ण जिम्मेवारी एक्लै सम्हाल्नुपर्ने अवस्था प्रमिलामा आयो ।

श्रीमान् गुमाएपछि विगत सात वर्षदेखि प्रमिला कहिले मजदुरी त कहिले जमिन्दारको अधिया खेती गरेर जीवन धानिरहनुभएको थियो । गाउँका समुदायले उहाँको अवस्था देखेर घर बनाइदिने प्रयास गरे पनि आफ्नो नाममा जग्गा नहुँदा समस्या आइरह्यो । यद्यपि, प्रमिलाले हिम्मत हार्नुभएन । केही ऋण लिएर उहाँले ६ धुर जग्गा किन्न सफल हुनुभयो, जसले आफ्नै घरको सपना फेरि जीवित बनायो । उहाँको पीडा र संघर्षको कथा थाहा पाएपछि ग्रामीण महिला उत्थान केन्द्रले निवास संस्था र गढवा गाउँपालिकाको साझेदारीमा दुई कोठा र शौचालयसहितको भूकम्पप्रतिरोधात्मक घर निर्माण गरिदियो ।

महिला परिवारलाई सुरक्षित आवासमार्फत सुदृढीकरण तथा भूमिमा महिलाको स्वामित्वसम्बन्धी सचेतना पैरवी परियोजनाअन्तर्गत दुई कोठे भूकम्प प्रतिरोधात्मक पक्की घर र शौचालय निर्माण गरिएको ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाबाट चार लाख २५ हजार र गढवा गाउँपालिकाबाट दुई लाख रुपियाँको साझेदारीमा घर निर्माण गरिएको हो ।

नयाँ घरमा सरेपछि खुशीका आँसु झार्दै प्रमिलाले भन्नुभयो, “हामी पनि आफ्नै घरमा बसौँला भन्ने आशा मैले मारिसकेको थिएँ । अहिले यो सबै सपना जस्तै लागिरहेको छ ।” प्रमिलाको गृहप्रवेश कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा, वडा नं. ४ का अध्यक्ष हरिभगत चौधरी, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीलगायत स्थानीय अगुवाहरू सहभागी हुनुहुन्थ्यो । उहाँहरूले प्रमिला र उहाँकी छोरीलाई माला र टीका लगाई घरको चाबी हस्तान्तरण गर्नुभयो । वडा अध्यक्ष हरिभगत चौधरीले प्रमिलाका दुई छोरीको निःशुल्क शिक्षाका लागि स्थानीय सरकारबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकाका अध्यक्ष शर्माले सुरक्षित आवास कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।