• २४ पुस २०८२, बिहिबार

गोलभेँडाले भाउ पाउँदा किसान मक्ख

blog

सर्लाहीको सासापुर तीनघरेबाट काठमाडौँ लैजान क्रेटमा हालेर तयार पारिँदै गरेको गोलभेँडा । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, पुस २३ गते । यस वर्षको मध्य चिसोयाममा पनि गोलभेँडाले प्रशस्त मूल्य पाउँदा सर्लाहीका किसान मक्ख छन् । अघिल्ला वर्षमा शीतलहर चल्ने याममा गोलभेँडा बिक्री नभएर किसान हैरान हुन्थे । केजीको १०/१२ रुपियाँमा पनि बेच्न मुस्किल पथ्र्यो । 

यस वर्ष भने किसानले गोलभेँडाको अनपेक्षित मूल्य पाइरहेका हुन् । यहाँ किसानले गोलभेँडा व्यापारीलाई प्रतिकेजी एक सय रुपियाँमा बिक्री गरिरहेका छन् । 

किसानसँग व्यापारीले एक सय रुपियाँ प्रतिकेजी खरिद गर्ने गोलभेँडा उपभोक्ताले भने खुद्रा बजारबाट प्रतिकिलो १२० रुपियाँसम्ममा खरिद गरी उपभोग गरिरहेका छन् । 

यस वर्ष मध्य कात्तिकमा भएको भारी वर्षाले गोलभेँडाको बेर्ना नै नष्ट गरेपछि धेरै किसानले गोलभेँडा रोप्न पाएका थिएनन् ।  हरिवन नगरपालिका–२, अत्रौलीका किसान बाबुलाल दोङले कात्तिकमा भएको बेमौसमी वर्षाले गोलभेँडाको बोट नष्ट गरेकाले उत्पादन घटेको बताउनुभयो । थोरै किसानले मात्र बेर्ना जोगाएर गोलभेँडा फलाउन सकेकाले राम्रो भाउ पाइरहेको दोङको भनाइ छ । 

“कात्तिकको पानीबाट जजस्ले गोलभेँडाको बोट जोगाउन सके उनीहरूले नसोचेको मूल्य पाइरहेका छन्,” दोङले भन्नुभयो, “मैले पनि थोरै बिरुवा जोगाउन सकेकाले अहिलेसम्म त किलोको एक सय रुपियाँसम्म बिक्री गरिरहेको छु ।” 

सर्लाहीमा उत्तरी भेगको लालबन्दी, हीरापुर, पत्थरकोट, रानीगन्ज, घारी बथान, सासापुर, घुर्कौली, हरिवन, धरहरालगायत क्षेत्रमा व्यावसायिक रूपमा गोलभेँडा खेती हुन्छ । यस क्षेत्रका किसानले गोलभेँडा उत्पादन गरी लालबन्दी बजार वा सासापुर तीनघरेमा रहेको गोलभेँडा सङ्कलन केन्द्रमा ल्याएर बिक्री गर्ने गरेका छन् । 

कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अनुसार उत्पादन घटेकाले यस वर्ष बजारमा गोलभेँडा कम परिमाणमा आइरहेको छ । बजार समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेका अनुसार गएको वर्ष यही समयमा २५ केजी अट्ने एक क्रेट गोलभेँडा मुस्किलले दुई सयदेखि तीन सय रुपियाँसम्ममा बिक्री हुन्थ्यो । 

यस वर्ष अहिले क्रेटको दुई हजारभन्दा माथि नै बिक्री भइरहेको छ । बजारका व्यवस्थापक घिमिरेले बजारको माग अनुसार किसानले गोलभेँडा उत्पादन गरेर ल्याउनै नसकेको बताउनुभएको छ । लालबन्दी बजारका व्यापारी मोहम्मद उस्मानले पहिलो पटक यसरी मध्य जाडोमा पनि गोलभेँडाको मूल्य यति धेरै भएको बताउनुभयो । 

अघिल्ला वर्षमा सुरुको उत्पादनले राम्रो मूल्य पाए पनि मध्य सिजनमा गोलभेँडा बिक्री नभएर किसानको खेतमै कुहिएरसमेत जाने गरेको थियो । सर्लाहीमा अहिले लालबन्दी थोक तरकारी बजारबाट दैनिक चार सयदेखि पाँच सय क्रेट र सासापुरस्थित तीनघरेबाट पाँच सय क्रेटभन्दा बढी गोलभेँडा सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा जाने गरेको छ ।