प्रवीण कुमार शर्मा
रौतहट, पुस २२ गते । रौतहटको राजपुर नगरपालिका भित्रका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । यहाँका ९ वटै वडाका करिव दुई हजार पाँच सय ज्येष्ठ नागरिकलाई न्यानो कपडाअन्तर्गत ब्लाङ्केट वितरण सुरु गरिएको हो । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्ध भत्ता खाने ६० वर्ष उमेर पुगेका दलित तथा ६८ वर्ष उमेर पुगेका अन्य ज्येष्ठ नागरिकलाइ सोमबारदेखि वितरण सुरु गरिएको राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताउनुभयो ।
ज्येष्ठ नागरिकलाई चिसोबाट जोगिन सहज होस् भन्ने उद्देश्यका साथ न्यानो कपडा उपलब्ध गराइएको राजपुर नगरपालिकाका नगर प्रमुख डा. राजिक आलमले बताउनुभयो ।
चिसो बढिरहेको बेलामा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर ब्लाङ्केट वितरण सुरु गरिएको उहाँको भनाइ छ । उहाँले चिसोको समयमा ज्येष्ठ नागरिकलाई राहतका लागि चालु आर्थिक वर्षमा ब्लाङ्केट वितरणका लागि बजेट विनियोजन गरेको बताउनुभयो ।
वडा नं. १ र २ का ज्येष्ठ नागरिकहरूलाई सोमबार नगरपालिका कार्यालयबाट न्यानो कपडा वितरण गरिएको हो । यसैगरी, वडा नं. ३ देखि ९ सम्मका ज्येष्ठ नागरिकलाई बिहीबार भित्र ब्लाङ्केट उपलब्ध गराइने राजपुर नगरपालिकाले जनाएको छ ।
राजपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष सोनेलाल पण्डितले वडा नं. २ का दुई सय ७० जना ज्येष्ठ नागरिकलाई एक एक वटा न्यानो कपडा नगरपालिका कार्यालयबाट हस्तान्तरण भएको जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता पाउने सबै ज्येष्ठ नागरिकहरू यस सहयोगबाट प्रत्यक्ष लाभान्वित हुनुभएको छ ।