• १९ चैत २०८२, बिहिबार

ताप्लेजुङमा दुई जनाले कारागारबाटै दिए एसईई

blog

साहारा लिम्बू

फुङलिङ, चैत १९ गते । ताप्लेजुङमा दुई कैदीबन्दीले कारागारबाटै माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनुभएको छ । जिल्ला कारागार ताप्लेजुङमा सजाय भुक्तान गरिरहेका दुई परीक्षार्थीले यस वर्षको एसईई दिनुभएको हो ।

जिल्ला कारागारमा रहेकामध्ये एक जनाले नियमित र एक जनाले ग्रेड वृद्धितर्फ परीक्षा दिएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले जानकारी दिनुभयो । ताप्लेजुङमा यस वर्ष जिल्लाभर ११ वटा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ । गत वर्ष १७ वटा केन्द्र रहेकामा यस पटक परीक्षार्थी सङ्ख्याका आधारमा ११ वटा मात्र केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो ।

जिल्लाभरबाट नियमित, प्राविधिक धार र ग्रेड वृद्धि गरी कुल २ हजार ९ जनाले परीक्षाका लागि आवेदन दिएकामा केही परीक्षार्थी अनुपस्थित भएको सम्बन्धित केन्द्रका केन्द्राध्यक्षहरूले जनाएका छन् । अनुपस्थित हुनेहरूको यकिन विवरण केही समयपछि प्राप्त हुने एकाइले जनाएको छ ।

यस्तै, ताप्लेजुङका सबै केन्द्रमा परीक्षा सकिएका विषयको उत्तरपुस्तिका परीक्षणको प्रबन्ध मिलाइएको छ । जिल्ला सुरक्षा समितिले सम्बन्धित केन्द्रका लागि आवश्यक पर्ने सुरक्षा जनशक्ति नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म तथा मातहतका युनिटमार्फत व्यवस्थापन गरेको छ ।

सम्बन्धित केन्द्रका केन्द्राध्यक्षले विषयगत शिक्षक तथा विज्ञहरूको व्यवस्थापन गरी शुक्रबारबाटै उत्तरपुस्तिका परीक्षण सुरु गर्ने तयारी गरिएको प्रमुख भट्टराईले जानकारी दिनुभयो । "गएराति मात्र उत्तरपुस्तिका जाँच कार्यविधि प्राप्त भएको छ । कार्यविधि प्राप्त हुनासाथ सबै केन्द्रका केन्द्राध्यक्षसँग समन्वय गरी आवश्यक तयारी गर्न निर्देशन दिइएको छ," भट्टराईले भन्नुभयो ।

आज एसईईको पहिलो दिन ताप्लेजुङका सबै केन्द्रमा शान्तिपूर्ण ढङ्गले परीक्षा सञ्चालन भएको छ ।