केशब राज भट्ट
वाशुलिङ बैतडी, पुस २२ गते । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा लामो समयदेखि वर्षा नहुँदा गहुँबाली सुक्न थालेका छन् । पुस अन्तिम साता लागिसक्दा पनि हिउँदे वर्षा नहुँदा गहुँसहित हिउँदे तरकारी र फलफूलमा समेत प्रतिकूल असर पर्न थालेको हो ।
खडेरीका कारण खेतमा लगाइएको गहुँबाली सुक्दै गइरहेको सूर्नया गाउँपालिका–३ का किसान लक्ष्मी ऐरीले बताउनुभयो । यसैगरी, पाटन नगरपालिका–३ का किसान अम्बादत्त भट्टले गहुँबाली सुकेपछि अर्काे वर्ष लगाउका लागि बिउसमेत नहुने चिन्ता बढेको बताउनुभयो ।
सिँचाइ सुविधा नभएका क्षेत्रमा खडेरीको असर बढी देखिएको किसानहरूको भनाइ छ । सिँचाइ अभावका कारण अधिकांश गहुँबाली सुकिसकेको र यस वर्ष उत्पादनमा निकै कमी आउने अवस्था देखिएको मेलौली नगरपालिका–२ सलेनाका किसान देवदत्त भट्टले बताउनुभयो ।
यसैगरी, लामो समयसम्म खडेरी रहिरह्यो भने गहुँबाली केही सुकेको त केही बादरले नष्ट गर्दै जाँदा भोकमरी हुन सक्ने पाटन नगरपालिका–३ का किसान दिपकबहादुर चन्दले बताउनुभयो । विशेषगरी पहाड र हिमालका उच्च लेकाली र हिमाली क्षेत्रमा सिँचाइ सुविधा नहुँदा गहुँबाली हुर्कन नसकेको किसानहरूको भनाइ छ ।
जिल्लामा करिब १५ हजार चार सय हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको भए पनि आधाभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा नभएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनुभयो । खडेरीका कारण सिँचाइ नभएका स्थानमा उत्पादनमा ह्रास आउने र खाद्यान्न आयातमा निर्भरता बढ्ने देखिएको उहाँले बताउनुभयो ।