• २३ पुस २०८२, बुधबार

पक्की पुल निर्माण हुँदा स्थानीय खुसी

blog

प्युठानको सिमानासँग जोडिएको अग्लुङ्गफेदीमा निर्माण र्भाको पक्की पुल । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, पुस २२ गते ।
पश्चिम गुल्मीको ग्रामीण भेगमा पर्ने प्युठानको सिमानासँग जोडिएको अग्लुङ्गफेदीमा पक्की पुल निर्माण भएपछि स्थानीय खुसी देखिएका छन् । मदाने गाउँपालिका–१ अग्लुङ्गमा पर्ने अग्लुङ्गफेदी खोलामा मोटरेबल पक्की पुल निर्माण हुँदा यहाँका स्थानीयसँगै छिमेकी जिल्लावासी समेत खुसी देखिएका हुन् । पुल निर्माण नहुँदा निकै दुःख पाएका यहाँका नागरिकहरु पुल निर्माणपछि निकै खुसी छन् ।

वर्षाको समयमा खोला तर्नका लागि निकै सास्ती खेप्नु पर्ने स्थानीय गोरबहादुर विश्वकर्माले बताउनुभयो । वर्षामा खोला तर्न सक्ने अवस्था नहुँदा मान्छेसँगै सवारीसाधनहरु अलपत्र जस्तै बन्ने गरेको भन्दै उहाँले अब पुल निर्माणले नागरिकको समस्या समाधान भएको बताउनुभयो । पक्की पुलबाट खोला तर्ने यहाँका नागरिकहरुको इच्छा पूरा भएको छ । यहाँ पुल नहुँदा अग्लुङ्गका स्थानीय नागरिकले मात्रै नभएर छिमेकी जिल्ला प्युठान, बाग्लुङ्गसम्मका नागरिकहरुले वर्षायाममा निकै समस्या भोग्नुपरेको यस वडाका वडाध्यक्ष सुशील चन्दले बताउनुभयो । नागरिकले वर्षौँदेखि वारपार गर्न निकै सास्ती खेप्दै आएको बताउनुभयो । 

पुल निर्माणले अग्लुङ्गसँगै छिमेकी जिल्ला प्युठानको गौमुखी गाउँपालिकाको अर्खा, रजबारालगायतका विभिन्न स्थानमा १२ महिना सहज रूपमा सवारीसाधन सञ्चालन हुने स्थानीयहरुले बताएका छन् । सडक पूर्वाधार विकास कार्यालय गुल्मीमार्फत पुल निर्माणको जिम्मा एम/एस कमल–अर्जुन–सिटी–जेभी रेसुङ्गा गुल्मीले पाएको थियो ।

चार महिनामा नै पुल निर्माणको काम सकिएको थियो। भ्याटसहित चार करोड १४ लाख २९ हजार ९७९ रुपियाँको लागतमा २५ मिटर लम्बाइको पक्की पुल निर्माण गरिएको हो । पुल सञ्चालनमा आएको छ । तर औपचारिक कार्यक्रम गरी पुलको उद्घाटन गरिएको छैन ।