चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले खेती (कृषि कर्म) गर्न चाहाने किसानलाई सहयोग गर्ने भएको छ । अर्काको जग्गा भाडामा लिएर खेती गर्न चाहाने किसानलाई गाउँपालिकाले अनुदान सहयोग गर्ने भएको हो ।
खेती अर्थात् कृषि कर्म गर्न चाहाने किसानलाई गाउँपालिकाले वार्षिक एक लाख रुपियाँसम्म अनुदान सहयोग गर्ने भएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार खेती गर्ने किसानले तिर्नुपर्ने जग्गाको भाडाबापतको रकम तिर्नका लागि किसानलाई अनुदान सहयोग गरिने भएको हो ।
जग्गा भाडामा लिएर नगदेबाली, फलफूल र तरकारी खेती गर्न इच्छुक किसानलाई वार्षिक एक लाख रुपियाँसम्म अनुदान उपलब्ध गराउने भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । किसानलाई खेतीप्रति आकर्षण बढाउन साथै व्यावसायिक खेती प्रणालीमा आवद्ध गराई उनीहरुको आर्थिक सुधार गर्नमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले उक्त अभियानको सुरुवात गरेको उहाँको भनाइ छ ।
चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम तथा बजेटमार्फत आफ्नो जग्गा नभएका र जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार प्रत्येक वडाका एकजना कृषक, उद्यमी वा कृषि सहकारी संस्थालाई सहयोग उपलब्ध गराइने छ ।
बजारको अधिक माग तथा मूल्य उच्च रहेको बाली लगाउने, सामूहिक खेती गर्ने र वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै ठाउँमा खेती गर्नेगरी प्रस्ताव पेश गर्नेलाई प्राथमिकता दिइने पनि पालिकाले जनाएको छ । खेती गर्न भाडामा लिएको जग्गा न्यूनतम् १५ रोपनी क्षेत्रफल बराबर हुनुपर्ने र तीन वर्षसम्म उक्त जग्गामा खेती गर्ने प्रतिबद्धतासहित प्रस्तावना पेश गर्ने पालिकाभित्रका स्थायी बासिन्दा वा किसानलाई अनुदान दिइने छ । सिदिङ्वामा सातवटा वडा रहेका छन् ।