टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), पुस २२ गते । मुटु छेड्ने पुसको जाडो छ । किरिया आफैँमा कष्टपूर्ण हो । आमाको मृत्युले मदाने गाउँपालिका–४ की तुल्सा सुनारको मन पोलेको छ । तर सेतो कोराभित्र पीडा खेपेरै भए पनि सामाजिक क्रान्तिको अठोट तुल्साले बोकिरहनुभएको छ ।
उहाँकै अनुसार समाजले बिहे हुँदैन छोरीले किरिया गर्न हुन्न समेत भने । पैसाकै कारण भारतमा मृत्यु भएकी आमाको लास घर ल्याउन सकिएन् । लास आएको भए तुल्साले दागबत्ति दिएर छोराले गर्ने सबै कर्म आफैँले गर्ने सोँच बनाउनुभएको थियोे । उहाँले पीडा र कष्ट खेपेरै भए पनि आमाको स्वर्गमा बास हुन्छ भनेर हिम्मत गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “समाजले त के भने भने होटलमा भाँडा माझेर ऋण तिर्छु, लास झिकाउँभन्दा कसैले सुनेन्, मैले छोराको महसुसनै हुन दिएको छैन । आमाको स्वर्गमा बास हुने भए अझै कष्ट झेल्न तयार छु ।”
उहाँकी आमा क्वाँरी सुनार बितेका नौ दिन भयो । मृत्युको खबरले तीन दिन अचेत बनायो । तुल्सा चार दिदीपछिको कान्छी छोरी । सबैको बिहे भएकाले पीडासँगै पारिवारीक बोझ तुल्साकै काँधमा थोपिरियो । उपचार गर्न भातर पुगेकी आमा घर फर्किनुभएन् । विपन्न परिवार भएकाले क्वाँरीको स्वदेशमै राम्रो उपचार गर्न सकिएन । छोरी ज्वाँइ खोज्दै भारत पसेकै १५÷१७ दिनमै उहाँको ज्यान गयो । छोरी तुल्सालाई पैसाकै कारण आमाको राम्रो उपचार गर्न नपाएकोमा पछुतो छ । आर्थिक अभावका कारण मृत्युवरण गर्नुभएको शव घर ल्याएर आमाको मुख हेर्न नपाएकोमा ठुलो गलानी उहाँमा छ ।
उहाँले भन्नुभयो, “स्वदेशमै राम्रो उपचार गर्न त सकिएन भारतमा त ज्यानै गयो । पैसाकै कारण शव झिकाउन नसकेर आमाको दागबत्ति समेत दिन पाइन ।” क्वाँरी सुनारलाई चार÷पाँच वर्षबाटै हातखुट्टा दुख्ने समस्या थियो । विस्तारै बढ्दै गएपछि पछिल्लो समय लुम्बिनी प्रादेशिक अस्पतालमा पुग्नुभयो । त्यहाँ मुटुको समस्या देखिएपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएर स्वास्थ्य परिक्षण भयो ।
परिवारकै अनुसार त्यहाँ २४ हजारका औषधी किन्नुपर्ने भयो । तर पैसा नभएकाले ११ हजार रुपियाँ खोजेर औषधी लिएर आए पनि सन्चो नै भएनन् । भारतमा भएका दिदीभिनाजुको आशमा दुई साता अघि ऋण गरेर आमालाई भारत पठाएको छोरी तुल्साले बताउनुभयो । अब घरमा ७१ वर्षीय बिरामी बुबा रुद्रबहादुर सुनार र तुल्सा मात्रै हुनुहुन्छ ।
आँखा र हातखुट्टाको समस्या माथि बुढ्यौलीले रुद्रबहादुर केही गर्न सक्नु हुँदैन् । ओतको लागि घर भए पनि एक मुरी उब्जनी हुने बारी छैन । जनज्योति बहुमुखी क्याम्पसको कक्षा १२ मा पढ्दै आउनुभएकी तुल्सा दैनिक दुई घण्टा हिँडेर आउ–जाउ गर्नुहुन्छ । आमाको उपचारमा लागेको ऋण र किरिया खर्चको पिरलो तुल्सासँग छ । सक्ने बेलासम्म पढ्ने र वृद्ध बुबाको हेरचाहकै लागि आफुले कुनै कमी हुन नदिने तुल्साले बताउनुभयो ।