• २३ पुस २०८२, बुधबार

अव्यस्थित पार्किङ हटाएपछि सहज

blog

सडकबाट अवस्थित पार्किङ हटाएपछि खुला देखिएको जिल्ला प्रशासन कार्यालय अगाडिको क्षेत्र । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, पुस २२ गते ।
सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयको गेटै अगाडि अव्यस्थित रुपमा वर्षौदेखि हुँदै आएको मोटरसाइकल पार्किङ हटाएसँगै आउजाउमा सहजता भएको छ ।

सिडिओ कार्यालयको गेट अगाडि सडकमै हुने मोटरसाइकल पार्किङ हटाएर छेउमै रहेको जिल्ला समन्वय समिति (साबिक जिविस) को चौरमा सारेसँगै ओहोरदोहोर गर्न निकै सहजता भएको हो । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राहीको मोटरसाइकल सडकमै अव्यस्थित किसिमले पार्किङ गरेर राख्दा सो सडक भएर आउजाउ गर्न असाध्य असहज रहेको थियो ।

सडकभरि जताततै मोटरसाइकल राख्दा चार पाङ्ग्रे सवारी साधन छिराउनै मुस्किल थियो । अहिले भने जिससको चौरतर्फ पार्किङको व्यवस्था मिलाइएपछि जिल्ला प्रशासन कार्यालय अगाडिको सडक खुला र फराकिलो बनेको छ ।

पैदलयात्रु, साइकल, मोटरसाइकल र चार पाङ्ग्रे सवारी सहजै आउजाउ गर्न पाएका छन् । मलङ्गवा नगरपालिका १० नंं. वडा कार्यालयले जिससको चौरमा पार्किङको व्यवस्था गरेर रेखदेख र सुरक्षाका लागि कर्मचारीसमेत खटाएको छ ।

वडाध्यक्ष मुकेशकुमार झाले जिल्ला प्रशासन कार्यालयमा दैनिक सेवा लिन आउने दुई सयभन्दा बढी सेवाग्राहीले पार्किङ गरेर राखेको मोटरसाइकल चोरी हुन सक्ने भएकाले सुरक्षाका लागि कर्मचारी राख्नुपरेको जानकारी दिनुभयो । मोटरसाइकल सुरक्षित राखेबापत वडा कार्यालयले २० रुपियाँ पार्किङ शुल्क उठाउने गरेको छ ।

साइकल र छेउछाउमा व्यवसाय गर्ने पसलधनीको मोटरसाइकल भने निःशुल्क पार्किङ गर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष झाको भनाइ छ । वडा कार्यालयबाट बजेट बिनियोजन गरेर पार्किङस्थललाई अझ व्यवस्थित र दीगो बनाउने योजना रहेको वडाध्यक्ष झाले जानकारी दिनुभयो ।  

वडाध्यक्ष झाले राम्रो गर्ने प्रयास गर्दा केही व्यक्तिले अटेरी गरेर सडकमै पार्किङ गरिदिने गरेको गुनासो गर्नुभएको छ । “हाम्रोतिर जति भन्दा पनि अटेरी गर्ने प्रवृत्ति भएकाहरु धेरै छन् तर त्यसका बाबजुत सुधारको प्रयास गरेका छौँ,” वडाध्यक्ष झाले भन्नुभयो, “पूर्वपश्चिम राजमार्ग क्षेत्र र पहाडतिर जस्तो यहाँ मानिसलाई सहजै बुझाउन र सम्झाएर सक्ने अवस्था छैन ।”

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जिल्लामा हाजिर हुनासाथ कार्यालय अगाडि रहेको अव्यस्थित पार्किङ हटाउन पहल सुरु गर्नुभएको थियो । “कार्यालयमा हाजिर हुन आउँदा नै गेट अगाडिको भद्रगोल पार्किङ देखेँ र सुरुमा यसकै व्यवस्था गर्नुपर्छ भन्ने लाग्यो,” सिडिओ कडरियाले भन्नुभयो, “वडा कार्यालयसँग समन्वय गरेर तत्कालै यसलाई हटाउने काम गर्न सुरु गरिहाल्यौँ र अहिले कार्यालय अगाडिको दृश्य फरक भएको छ ।”