अर्जुन काफ्ले
स्याङ्जा, पुस २१ गते । पुतलीबजार नगरपालिका–१, मालेबगर खेल मैदानमा प्रथम खुमा अर्याल कप टी–२० रनिङ कप क्रिकेट हुने भएको छ ।
खुमा अर्याल फाउन्डेसन स्याङ्जाले पुतलीबजार नगपालिका सहकार्य र जिल्ला क्रिकेट सङ्घ स्याङ्जाको प्राधिविक सहयोगमा पालिका स्तरीय प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेट यहि माघ २ देखि १० गतेसम्म गर्न लागेको हो ।
जिल्लाको समग्र खेलकुद क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताउनु भयो ।
राष्ट्रिय प्रतियोगिताको लागि जिल्ला टिम छनोट गर्ने, स्याङ्जा सदरमुकामलाई क्रिकेट लगायतका खेलको हबका रूपमा विकसित गराउने लगायतका महत्वाकाङ्क्षी योजनाका साथ अघि बढिरहेको अध्यक्ष शर्माले बताउनु भयो ।
प्रतियोगितामा अन्डर सिक्सटिनको एक र अन्डर नाइनटिनका दुई खेलाडी एक टिममा अनिवार्य खेलाउनु पर्ने नियम आयोजकले बनाएको छ । खेलमा दुई खेलाडी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सहभागिता गराउन पाइने छ ।
नौ दिन चल्ने खेलमा स्याङ्जाका ११ पालिका मध्ये नौ पालिकाको सहभागी रहने पक्का भएको बताउँदै शर्माले दुई सय ५० खेलाडीको सहभागीता हुने विश्वास आयोजकले गरेको छ ।
प्रतियोगिताको विजेताले दुई लाख रुपियाँ, महत्त्वपूर्ण बहुमुल्य रत्न सुन तथा चाँदी जडित र आठ लाख रुपियाँमा निर्माण भएको रनिङ शिल्ड सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छ ।
यस्तै उपविजेताले एक लाख ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय स्थान हात पार्ने पालिकाले एक लाख र सान्त्वनाले ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छ ।
प्रतियोगितामा प्लेयर अफ दि म्याचले पाँच हजार र प्रतियोगिताका विधागत बेष्ट प्लेयरले १०/१० हजार पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि ६४ लाख नौ हजार सात रुपियाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।