• २२ पुस २०८२, मङ्गलबार

ऐरावती गाउँपालिकामा दिउँसो टिप्पर सञ्चालन रोक

blog

फाइल तस्बिर

सुजल श्रेष्ठ
प्युठान, पुस २१ गते ।
प्युठानको ऐरावती गाउँपालिकाले पालिका क्षेत्रको मुख्य सडकमा दिउँसोको समयमा टिप्पर सञ्चालन गर्न रोक लगाएको छ । गाउँपालिकाले चेरनेटा–बरौला–जोगिटारी सडकमा बिहान ८ देखि बेलुका ५ बजेसम्म टिप्पर सञ्चालनमा रोक लगाएको हो ।

मङ्सिर २३ गते बसेको कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्न पालिकाले सूचना जारी गरेर उक्त समय बाहेक रातीको समयमा मात्र टिप्पर सञ्चालन गर्न पाउने जनाएको छ । बेलुका ५ बजेपछि बिहान ८ बजेसम्म मात्र टिप्पर चलाउन दिने निर्णय भएको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो । टिप्परले दुर्घटनाको जोखिम बढाएको व्यापक जनगुनासो आएपछि पालिकाले समयतालिका बनाएर लागू गर्न खोजेको अध्यक्ष शाहले बताउनुभयो ।

उक्त सडक खण्डमा पछिल्लो समय निर्माणका सामग्री बोक्ने टिप्पर नियमित रुपमा चल्दै आएका छन् । प्युठानबाट अर्घाखाँची निर्माणको सामानी ढुवानी हुने गर्ने टिप्परले सडक क्षेत्र आसपासका सर्वसाधारणले हैरानी भोगेको गुनासो गर्ने गरेका छन् ।

“सामान्य दुर्घटना त धेरै नै भइसकेको छ,” ५ नम्बर वडाका वडा अध्यक्ष चन्द्रबहादुर रोकामगरले भन्नुभयो, “ठुलो दुर्घटना भएको छैन, जोखिम भने धेरै छ ।” स्थानीयले टिप्परको विषयलाई लिएर निकै गुनासो गर्ने गरेको वडा अध्यक्ष रोकामगरले बताउनुभयो ।

चेरनेटा–बरौला सडक खण्डको कैरन–पकला सडक अघिल्लो वर्ष मात्र कालोपत्रे गरिएको छ । उक्त सडकलाई समेत अत्याधिक भार बोकेका टिप्परले बिगारेको स्थानीयको भनाइ छ । दर्जनभन्दा बढी टिप्पर एकसाथ चल्ने हुँदा पक्की सडक बिग्रने भन्दै स्थानीय चिन्तित छन् । निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।