• २२ पुस २०८२, मङ्गलबार

मानव–वन्यजन्तु द्वन्द्व

छ महिनामा छ जनाको मृत्यु

blog

बाघको आक्रमणबाट ज्यान गुमाएकी विनिताको परिवार । तस्बिर : ज्योति पन्थी

ज्योति पन्थी 

बबई (बर्दिया), पुस २१ गते । बर्दियामा मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि भइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वन्यजन्तुको आक्रमणमा परेर जिल्लामा छ जनाले ज्यान गुमाएका छन् । पछिल्ला वर्षमा मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्र तथा त्यस आसपासका वस्तीमा वन्यजन्तुको आवतजावत बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि हुँदै गएका छन् ।

डिभिजन वन कार्यालय बर्दियाका अनुसार साउनदेखि पुस मध्यसम्म चितुवा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । अघिल्लो आव २०८०/८१ मा मानव–वन्यजन्तु द्वन्द्वका कारण चार जनाले ज्यान गुमाएका थिए भने चालु आव २०८१/८२ को छ महिनामै उक्त सङ्ख्या छ पुगेको छ । जसले गर्दा संरक्षणमा झन् समस्या थपिँदै गएको छ । 

तथ्याङ्क अनुसार गत साउन ३० गते गुलरिया नगरपालिका–१२, भैँसाहीकी जगतरानी थरुनी, भदौ २९ गते सोही वडाकी कविता मोक्तान, मङ्सिर १२ गते बारबर्दिया नगरपालिका–११ की गोपी थरुनी, पुस २ गते बारबर्दिया नगरपालिका डफैयाका दिनेश थारूको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको थियो । त्यसै गरी पुस ९ गते बारबर्दिया नगरपालिका बैदीकी पवित्रा डाँगी तथा पुस १५ गते मधुवन नगरपालिका–२, कोठियागाउँकी विनिता परियारको वन्यजन्तुको आक्रमणमा परेर मृत्यु भएको हो ।

स्थानीयवासीका अनुसार पछिल्ला केही वर्षयता निकुञ्जको भित्री क्षेत्रबाट मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्रमा वन्यजन्तुको आक्रमण निरन्तर बढिरहेको छ । मानिसले ज्यान गुमाउँदासमेत सरोकारवाला निकायले प्रभावकारी कदम नचालेको भन्दै पीडित पक्षले गुनासो गरेका छन् । मधुवन नगरपालिका–२, कोठियागाउँका तेजु परियारले वन्यजन्तुको आक्रमणबाट स्थानीय बासिन्दाको मृत्यु हुँदा डिभिजन वन कार्यालयलगायत सम्बन्धित निकाय मौन बसेको आरोप लगाउनुभयो ।

यस विषयमा प्रतिक्रिया दिँदै डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत गोपाल चौधरीले विगतका वर्षको तुलनामा चालु वर्ष मानव मृत्युको दर चिन्ताजनक रूपमा बढेको स्वीकार गर्नुभयो । उहाँले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि थप सतर्कता, पूर्वसूचना प्रणाली र स्थानीय समुदायसँग सहकार्य आवश्यक रहेको बताउनुभयो ।