• २२ पुस २०८२, मङ्गलबार

बाँकेमा चिसो अत्याधिक बढ्दा जनजिवन अस्तव्यस्त

blog

शीतलहर चलेपछि यस्तो छ नेपालगन्जको अवस्था । तस्बिर : सिराज खान

सिराज खान  
नेपालगन्ज, पुस २१ गते ।
गत दुईसाता यता बाँकेमा सुरु भएको शीतलहर र हुस्सुका कारण चिसो अत्याधिक बढेको छ । शीतलहरले गर्दा चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ ।

चिसो अत्याधिक बढेका कारण बिहान र बेलुकी सडकमा सवारी साधन र मानिसको आवागमन निकै कम देखिएको छ । सरकारी कार्यालया सेवाग्राही र विद्यालयहरुमा बालबालिकाको सङ्ख्या पनि घटेको छ ।

चिसो बढेका कारण नेपालगन्जका प्रमुख बजार त्रिभुवन चोक, सदरलाइन, घरबारीटोल, वीपी चोक, बीरेन्द्र चोक र पुष्पलाल चोक क्षेत्रमा चहलपहल घटेको छ । शीतलहर चलेर चिसो बढेपछि बजारमा मानिसको आवागमन घटेको नेपालगन्जका नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।

शीतलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरहरु प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धाहरुलाई पनि यसले निकै प्रभाव पारेको छ ।  

चिसो बढ्दै गएकोले जिल्ला विपद् व्यवस्थापन समिति र नेपाली सेनाले केही ठाउँमा सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाएको छ । स्थानीय सरकारहरुसँग पनि आआफ्नो पालिकामा सो व्यवस्था गर्न आग्रह गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताउनुभयो ।

शीतलहर, कुहिरो र भिजीविलिटी कम भएका कारण तीनदिनयता बिहान र बेलुका नेपालगन्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् । पहाडी जिल्लाहरु हुम्ला, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लाका लागि बिहान हुने हवाई उडानहरु मध्ये अधिकांश रद्द हुँदै आएको र केहीमा ढिलाइ हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।

नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार पहाडी जिल्लाहरुसँगै सङ्घीय राजधानी काठमाडौँका लागि पनि बिहान र बेलुका हुने हवाई उडान प्रभावित भइरहेका छन् ।

गत केहीदिन देखि नेपालगन्जको तापक्रम पनि घट्दै गएको छ । पछिल्ला दिनहरुमा यहाँको तापक्रम घटेर ९ देखि १३ डिग्रि पुगेको नेपालगन्ज विमानस्थलको टावरले जनाएको छ ।