• २२ पुस २०८२, मङ्गलबार

खस राज्यको इतिहास सङ्कटमा

blog

जुम्लाको कनकासुन्दरी मन्दिर । तस्बिर : नौरते नेपाली

नौरते नेपाली 

सिँजा (जुम्ला), पुस २१ गते । जुम्लाको सिँजा उपत्यकास्थित खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्र संरक्षण नगरिँदा इतिहासका कतिपय तथ्य सङ्कटपूर्ण अवस्थामा पुगेका छन् । उचित संरक्षण र उत्खननको अभावमा इतिहास नै नरहने अवस्थामा पुगेका हुन् । 

जुम्लाको सिँजा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । नेपाली समाजमा सिँजा सभ्यताको छुट्टै र विशिष्ट महत्व छ तर अहिले त्यही उपत्यकाको अस्तित्व र महत्व सङ्कटमा परेको छ । सिँजा उपत्यकामा रहेका पूर्वप्राचीनकालमा बनाइएका धार्मिक मठमन्दिर, गुफा, देवल, चालचलन, रीतिरिवाजलगायत संरक्षणको अभावमा ध्वस्त हुँदै गइरहेको स्थानीय पवित्रकुमार शाहीले बताउनुभयो । पर्यटकीय क्षेत्र अहिले संरक्षणको अभावमा लोप हुँदै गइरहेको उहाँको भनाइ छ । 

नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिँजा उपत्यकामा रहेको सिँजा कनकासुन्दरी मन्दिर, पाण्डव गुफा, बुढु मस्टा, कनकासुन्दरी नैधारा मन्दिर, विराट् दरबार, नाख्या दुला, ह्याङ्ग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बातामालिका महादेव मन्दिरलगायत सिँजा भेगमा रहेका तीन दर्जनभन्दा बढी सानाठुला देवीदेवताका मन्दिर जीर्ण भई ध्वस्त हुन लागेको स्थानीय अमरबहादुर शाहीले बताउनुभयो । प्राचीन सभ्यताका चिनारी हराउन थालेका छन् । कैयौँ मठमन्दिर जीर्ण अवस्थामा पुगेको उहाँको भनाइ छ । 

पाँच पाण्डव बस्ने पाण्डव गुफा र विराट् दरबारको अवशेषसमेत भेटिन मुस्किल पर्न थालेको छ । खस राज्य सञ्चालनको समयमा बनाइएका यी मठमन्दिर, सिँजा, ठुलठुला ढुङ्गामा कुँदिएका चित्रकला, सङ्केत अक्षर र अङ्क लेखिएका शिलालेखसमेत अहिले खेतबारी र पाखामा बेवारिसे अवस्थामा रहेका जुम्लाका इन्जिनियर नवीन शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “जुम्लामा रहेको खस राज्यको इतिहास नै मेटिन लागेको छ । त्यसको संरक्षण र जगेर्ना गर्न कसैले पनि पहल चालेको छैन ।”

यसै गरी प्रसिद्ध कनकासुन्दरी मन्दिरनजिकै पूर्वतिर धर्मशाला बनाउन जग्गा खन्ने क्रममा पाँच वटा मूर्ति भेटिएका थिए । कर्णाली पर्यटन प्रवर्धन विकास समितिको लगानीमा भक्तजन बस्नका लागि धर्मशाला बनाउने क्रममा पुराना ढुङ्गाका मूर्ति भेटिएका हुन् । पाँच वटा मूर्तिमध्ये तीन ठुला र दुई साना छन् । तिनमा विष्णु, जालाफादेवी, शिव, लक्ष्मी, साँढेलगायतका मूर्ति छन् । मूर्ति भेटिएको ठाउँमा पहिले खस राजाको दरबार रहेको अनुमान गरिएको छ ।

कनकासुन्दरी मन्दिरलगायत सिँजा क्षेत्रमा रहेका महत्वपूर्ण स्थानको संरक्षण, सङ्ग्रहालय, उत्खनन र सुरक्षा आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताउनुभयो । ऐतिहासिक ठाउँको सुरक्षा हुन नसकेको उहाँको भनाइ छ । स्थानीय सरकारसँग स्रोतसाधनको अभाव भएकाले संरक्षण गर्न नसकिएको हो । कर्णालीमा रहेका विभिन्न धार्मिक, सांकृतिक, वेशभूषा र गुफा, मन्दिर, पन्चैबाजालगायत पनि संरक्षणको पर्खाइमा छन् । यस्ता पुरातात्त्विक सम्पत्ति र धरोहरको संरक्षणमा सम्बन्धित निकायको खासै ध्यान जान नसकेकोमा स्थानीयको चिन्ता छ । अझ पनि यसमा राज्य गम्भीर बन्न सके ऐतिहासिक धरोहर जोगाइराख्न सकिने स्थानीयको भनाइ छ ।  बलि राजाका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको इतिहास छ । जुम्ला राज्यका अन्तिम राजा सूर्यमान शाहीले विसं १८१६ मा राज्याभिषेक गरेका थिए । नेपाल एकीकरणको अभियानमा शिवनारायण खमीको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेलसम्म जुम्ला राज्यको अस्तित्व थियो । चौथो शताब्दीमा सुरु भएको जुम्ला राज्य १८ औँ शताब्दीसम्म अखण्ड र शक्तिशाली थियो । 

यस्तै कर्णालीका राजाहरूको मुख्य योगदान भनेको अहिले बोलीचालीमा रहेको खस भाषाको उद्गमस्थल हो । सिँजा उपत्यकामा इसाको १३ औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो । सिँजा उपत्यका खस मल्लहरूको राजधानी थियो । १२ औँ शताब्दीदेखि इसाको १४ औँ शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिँजामा भएको विभिन्न इतिहासमा लेखिएको पाइन्छ । खस राज्यको अस्तित्व करिब २२६ वर्षसम्म रहेको थियो ।