• १४ माघ २०८२, बुधबार

विपन्न परिवारलाई सशस्त्र प्रहरीद्वारा कम्बल वितरण

blog

विपन्न परिवारलाई कम्बल वितरण गर्नुहुँदै बिओपि रामपुरखाप रौतहटका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवाल । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
रौतहट, पुस २१ गते ।
  रौतहटको इशनाथ नगरपालिका–४ रामनगर चमटोलमा रहेका विपन्न घरपरिवारलाई आइतबार कम्बल वितरण गरिएको छ ।

२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा जिल्ला प्रशासन कार्यालय रौतहटको सहयोग र सशस्त्र प्रहरी बल नेपाल नं.११ गण हेडक्वाटर रौतहटको समन्वयमा ७० घरपरिवारलाइ कम्बल वितरण गरिएको बिओपि रामपुरखाप, रौतहटका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवालले जानकारी दिनुभयो ।

विपन्न तथा शारीरिक रुपले अशक्त व्यक्तिलाई घरमै पुगेर कम्बल वितरण गरेको उहाँले बताउनुभयो । चिसो बढ्दै गएसँगै  विपन्न समुदायहरू प्रत्यक्ष रूपमा प्रभावित हुन थालेकाले राहत स्वरुप न्यानो कम्बल वितरण गरिएको उहाँले बताउनुभयो ।  

नागरिक र सुरक्षाकर्मीबिचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले यस्ता मानवीय कार्यहरु सशस्त्र प्रहरीले निरन्तर रुपमा सञ्चालन गर्दै आएको उहाँको भनाइ रहेको छ । गरिब, दलित, अपाङ्ग तथा ज्येष्ठ नागरिकहरू चिसोका कारण स्वास्थ्य जोखिममा परिरहेका बेला सशस्त्र प्रहरी बल नेपालले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको ईशनाथ नगरपालिकाका कार्यपालिका सदस्य हिरालाल रामले बताउनुभयो ।

चिसो मौसम साथै शितलहरको समयमा नागरिक प्रति उतरदायी भूमिका निर्वाह गरेर सशस्त्र प्रहरी सधैँ जनताको साथमा रहेको अनुभूति दिलाएको ईशनाथ नगरपालिका –४ का वडासदस्य गगनदेव रामले बताउनुभयो ।

अत्यधिक चिसो र शीतलहरका कारण दैनिक जीवन कष्टकर बन्दै गएको अवस्थामा यो कार्यक्रम प्रभावकारी र समयसापेक्ष रहेको इशनाथ –४ का लक्ष्मीनारायण रामले प्रतिक्रिया दिनुभयो  ।

बिओपि रामपुरखापमा सशस्त्र प्रहरी निरीक्षक सुवाल आएदेखि सिमा सुरक्षामा सक्रियता बढाएदेखि जनतालाई विपदको समयमा हर सम्भव सहयोग गर्ने गरेको इशनाथ –४ का शोभा देवीले भन्नुभयो ।

त्यस्तै, आइतबार नै बौधिमाई नगरपालिका वडा नं. ७ राम बस्तीका ७० घर परिवार र राजदेवी नगरपालिका वडा नं. ८ लक्ष्मिपुर बस्तीका ६० घर परिवारलाई राहत स्वरुप कम्बल वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.११ गण हेडक्वाटर रौतहटका सशश्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिनुभयो ।