रमेश विश्वकर्मा
गुल्मी, पुस २१ गते । गुल्मीको छत्रकोट गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकार र छत्रकोट गाउँपालिकाको संयुक्त बजेटमा यस गाउँपालिकाको वडा नम्बर–३, भेंडुवामा अत्याधुनिक निर्माणाधीन प्रशासनिक भवनको ९४ दशमलव पाँच प्रतिशत सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताउनुभएको छ ।
प्रशासनिक भवन निर्माणको काम यही पुस २३ गतेसम्म सम्पन्न गरी आगामी माघ मसान्तसम्म सर्नुका साथै नव–निर्मित भवनबाट सेवा प्रवाह सुचारु गर्ने लक्ष्य राखिएको छ । निर्माणधीन प्रशासनिक भवनको अहिले भित्री सजावटको काम चलिरहेको छ । भवन निर्माणका लागि २०८० माघ १७ गते शिलान्यास गरिएको थियो । भवन निर्माणका लागि गाउँपालिकाले अम्बे माँ बलदेभव जे.भि. भरतपुर–९, चितवनसँग गत मङ्सिर ७ गतेसम्म सम्पन्न गर्ने गरी २०८० मङ्सिर ८ गते सम्झौता गरेको थियो ।
कुल लागत सम्झौता नौं करोड १० लाख ९९ हजार ४३५ रुपियाँ १२ पैसा रहेको सो प्रशासनिक भवनको निर्माण कार्यका लागि सङ्घीय सरकारबाट पाँच करोड ४० लाख रुपियाँ र तीन करोड ७० लाख ९९ हजार ४३५ रुपियाँ १२ पैसा छत्रकोट गाउँपालिकाबाट बजेट व्यवस्थापन गर्ने गरी अगाडि बढाइएको हो । अहिले सभाहलका लागि निर्माण गरिएको भवनबाट सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो । जग्गा प्राप्तिको कठिन प्रक्रिया पूरा गरी सामुदायिक बनको जग्गामा यस गाउँपालिकाले अत्याधुनिक प्रशासनिक भवन निर्माण गरेको हो ।
लामो समयको मेहनतपछि छत्रकोट गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवन बनेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बताउनुभयो । भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहजता र कार्यक्षमतामा सुधार आउने उहाँको भनाइ छ । भवनले चर्चेको जग्गाको कुल क्षेत्रफल १९ रोपनी आठ आनामध्ये ५ रोपनी क्षेत्रफलमा भवन निर्माण भइरहेको छ । अहिले यहाँ प्रशासनिक भवनको संरचना मात्र निर्माण गरिँदै छ । प्रशासनिक भवन निर्माणको हालसम्मको ८८ प्रतिशत आर्थिक प्रगति भएको छ ।
यस प्रशासनिक भवनमा आवश्यक प्रशासनिक सुविधा, कार्यकक्ष, बैठक कक्ष र नागरिक सहायता सेवा कक्ष समेटिने छ । भवन आवासबाहेक प्रशासनिक कामका लागि ३२ कोठा, बैठक कक्ष, सङ्ग्राहलयसहित चार तलाको बनेको छ । भवनमा अशक्त र वृद्ध–वृद्धालाई सजिलो होस् भनेर लिफ्टको पनि व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।