• १४ माघ २०८२, बुधबार

पेट्रोलियम पदार्थ अन्वेषण

blog

नेपालमा प्राकृतिक स्रोतको कमी छैन । जलस्रोतमा ब्राजिलपछि दोस्रो धनी मुलुक हो । आर्थिक उदारीकरणको नीतिसँगै जलविद्युत्मा निजी क्षेत्र संलग्न भएसँगै बल्ल मुलुकले फड्को मार्दै छ । करिब चार हजार मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । लोडसेडिङ हटेको छ । ९८ प्रतिशत नेपालीको घरमा बिजुली पुगेको छ । वर्षायाममा भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्न थालिएको छ । जलविद्युत् सबैभन्दा भरपर्दो र सम्भावनाको क्षेत्र हो । त्यस्तै पेट्रोलियम पदार्थका साथै सुन, चाँदी, फलाम, तामालगायतका धातुको खानी नेपालका विभिन्न क्षेत्रमा पाइएको छ । त्यसको उत्खनन गर्न विज्ञ जनशक्तिका साथै ठुलो लगानी आवश्यक पर्छ । नवलपरासीमा ठुलो परिमाणमा फलाम खानी फेला परेको छ । दैलेखमा पेट्रोलियम अन्वेषणको काम भएको छ । भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थका लागि ड्रिलिङ गरिएको छ । ड्रिलिङको काम हुँदा स्थानीय बासिन्दा निकै हौसिएका थिए तर अहिले सुरक्षा घेराभित्रको ‘रिङ हाउस’ मौन छ । ड्रिलिङपछिको काम अगाडि बढ्न सकेको छैन । पेट्रोलियम अन्वेषणका लागि आउने जाने प्राविधिक र उपकरणले केही समयअघिसम्म आमनागरिकमा जिज्ञासा मात्रै होइन, उत्साह पनि थपेको थियो । त्यहाँ मिथेन ग्यास भेटिएको खबरले सबैलाई खुसी दियो । अहिले सबै सुनसान छ । उत्पादन कहिलेदेखि कसको सहयोगमा सुरु हुन्छ भन्ने प्रतीक्षा गरिएको छ । जिल्लाका राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यापारीको पनि त्यहाँको ग्यास उत्खननबारे जिज्ञासा बढेको छ । उत्पादनको काम सरकारले कहिले अगाडि बढाउला भन्ने हुटहुटी छ । 

दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा चीनको जियोलोजिकल सर्भेले गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन अनुसार ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास रहेको पुष्टि भएको छ । मिथेन ग्यास उत्पादन परीक्षणका लागि चीन सरकारलाई प्रस्ताव पठाइएको थियो । अहिलेसम्म त्यसको कुनै औपचारिक जवाफ भने आएको छैन । खानी तथा भूगर्भ विभागका अनुसार अन्वेषणबाट ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास रहेको तथ्य प्रारम्भिक प्रतिवेदनमा आएको छ । हाल त्यसको प्राविधिक अध्ययन भइरहेको छ । आधिकारिक रूपमा प्रतिवेदन हस्तान्तरण हुन बाँकी छ । विभागले उत्पादनका लागि दोस्रो चरणको काम अघि बढाउन प्रस्ताव पठाइसकेको छ । जवाफ आएको छैन । नेपाल र चीनको आर्थिक वर्ष फरक फरक समयमा सुरु हुने भएकाले प्रस्ताव प्रक्रिया अघि बढ्न ढिलाइ भएको विभागको बुझाइ छ । चीनको आव जनवरीबाट सुरु हुने भएकाले अब जनवरी लागेसँगै नेपालले पठाएको प्रस्ताव अगाडि बढ्नेमा विभाग विश्वस्त छ । यो विषयलाई उच्च प्राथमिकतामा राखी सरकार, सम्बन्धित उद्योग तथा वाणिज्य मन्त्रालयले आवश्यक चासो लिएर प्रक्रिया अघि बढाउनु पर्छ । पहिलो चरणको अन्वेषण कार्य नेपाल र चीन सरकारबिच जिटुजी सहकार्यबाट सम्पन्न भएको हो । उत्पादनका लागि दोस्रो चरणको काम पनि त्यही ढाँचामा अघि बढ्नु राम्रो हुन्छ ।

बर्सौंदेखिको आमनेपालीको सपना पूरा हुन लागेको बेला जुन सरकार आए पनि यसलाई अगाडि बढाउनु पर्छ । सन् २०१९ देखि अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक अध्ययनले नेपाललाई ५० देखि ६० वर्षसम्म पुग्ने प्राकृतिक ग्यास देखाएको हो । त्यसका लागि नेपाल सरकारले कार्ययोजना निर्माण गरी उत्पादनतर्फ लाग्न ढिला गर्नु हुँदैन । स्वदेशमै ग्यास उत्पादन गर्न सके आयात प्रतिस्थापन हुनुका साथै रोजगारीको अवसरसमेत सिर्जना हुने छ । आर्थिक विकासलाई टेवा दिन्छ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको ड्रिलिङ अन्तर्गत चार हजार मिटर गहिराइसम्म उपकरणको सहायतामा खनेर नमुना निकालिएको हो । भैरवी गाउँपालिकाका कैयौँ स्थानमा जमिनमुनिबाट चुहिएको ग्यासमा दीप बालिएको छ । दैलेखको भैरवी गाउँपालिकाका विभिन्न स्थानमा यसअघिबाटै प्राकृतिक ग्यास पाइने ठाउँ छन् । यस्तो ग्यासबाट त्यहाँका कतिपय तीर्थस्थलमा अखण्ड दीप पनि बाल्ने गरिएको स्थानीय बताउँछन् । प्रारम्भिक अन्वेषणबाट उक्त क्षेत्रमा तेलभन्दा प्राकृतिक ग्यास रहेको सङ्केत भेटिएका छन् । विगतमा नेपालका विभिन्न स्थानमा पेट्रोलियम अन्वेषणको कार्य अघि बढाइएको भए पनि बाँकी स्थानमा थप प्रगति हुन सकेको छैन । विगतमा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत पेट्रोलियम पदार्थ कम्पनी छानेर अन्वेषणको कार्य अघि बढाइएको थियो । नेपालको तराई र सिवालिक क्षेत्रमा पेट्रोलियम अन्वेषणका लागि झन्डै पाँच/पाँच हजार वर्ग किलोमिटरका १० वटा ब्लक (स्थल) छुट्टाइएको छ । ती ब्लकहरूमा युरोप, अमेरिका र अरब राष्ट्रहरूले काम गरेका थिए । यद्यपि बर्सौंसम्म त्यसमा प्रगति भएन । अतः ठुलो परिमाणमा मिथेन ग्यास भेटिएको दैलेख नै सबैको आशाको केन्द्र हो । अब त्यहाँबाट ग्यास उत्पादन कार्य सुरु गर्न सबै क्षेत्रबाट प्रयास गरिनु वाञ्छनीय छ ।