काठमाडौँ, पुस २१ गते । नेपालको ऐतिहासिक स्थलका रूपमा परिचित चन्द्रागिरिको काजी कालु पाँडे पार्कसहित आसपासको क्षेत्र रमणीय बन्दै गएको छ । काठमाडौँ उपत्यकाको धुवाँधुलोसहितको प्रदूषणबाट थोरै टाढाको यो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटनको राम्रो थलो बनेको हो ।
स्वदेशी मात्र नभएर विदेशी पर्यटक पनि हाइकिङ, साइकल यात्रा, हिमाल अवलोकन र पैदलयात्राका लागि पुग्ने गरेको चन्द्रगिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विभिन्न पर्यटकीय सङ्घ संस्थाले हाइकिङ रुट नै बनाएर त्यहाँ पर्यटक पु¥याउने गरेका छन् । त्यति मात्र होइन, प्राचीन इन्द्रदह र आसपासका क्षेत्रमा पिकनिक स्पटको निर्माण गरेर आमनागरिकलाई पुग्न सहज बनाइएको छ । उहाँले भन्नुभए जस्तै कालु पाँडे पार्क, इन्द्रदह, स्विट्जरल्यान्ड पार्क, मदन स्मारक पार्कलगायतका खुला स्थानमा पिकनिक स्पट बनाइएका छन् ।
परिवारसहित बौद्धबाट घुम्न पुग्नुभएका साम्देन लामाले भन्नुभयो, “पहिलो पटक आएको अर्गानिक लाग्यो, बच्चाहरूलाई घोडा चढाउन पनि पाइयो, स्वच्छ हावा खान पाउँदा दिल खुसी भयो ।” शुक्रबार र शनिबार स्थानीय तथा आसपासका जिल्लाबाट ठुलो सङ्ख्यामा पिकनिक खान जानेको घुइँचो लाग्ने गरेको छ । नेपाल एकीकरणका नेतृत्वकर्ता राजा पृथ्वीनारायण शाहका प्रमुख सेनानी काजी कालु पाँडेको नामबाट पहाड र पार्कको नामकरण गरिएको छ । त्यहाँ उहाँको पूर्ण कदको सालिकसँगै समाधिस्थल आगन्तुकको अत्यधिक आकर्षणको क्षेत्र मानिन्छ । गोरखामा जन्मनुभएका काजी कालु पाँडे सन् १७५७ ताका पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका आक्रमणका क्रममा उपत्यकाको उत्तरपश्चिम डाँडामा खटिनुभएको थियो ।
काठमाडौँका तत्कालीन मल्ल राजाका सैनिकसँगको युद्धमा उक्त डाँडामै काटिन पुगेका थिए । मृत्युपछि स्थानीयले त्यहीँ उहाँको समाधिस्थल बनाएका थिए । त्यो बेला सुरुवातमा कीर्तिपुरमा आक्रमण गर्ने योजनाका साथ गोर्खाली सेना उक्त डाँडा हुँदै भित्रिएका थिए । नेपाल एकीकरणपछि उक्त स्थानलाई काजी कालु पाँडेले वीरगति प्राप्त गरेको ऐतिहासिक स्थलका रूपमा पहिचान गराइएको पार्कमा उल्लिखित लेखमा पाइन्छ । वर्तमानमा काठमाडौँको पश्चिमी डाँडाको कुनातर्फ चन्द्रागिरि नगरपालिका–१ मा पर्छ । उपत्यका जितेपछि पाँडेको समाधिस्थलनजिकै पृथ्वीनारायण शाहले गोरखाको मनकामनाको सानो स्वरूप सम्मानका साथ स्थापना गर्नुभएको थियो ।
उहाँले मनकामनाको भक्त भएकाले त्यहीँ पुगेर दर्शन र पूजा गर्दै गोर्खा मनकामनाको स्मरण गर्नुहुन्थ्यो भन्ने लोक कथन छ । स्विट्जरल्यान्ड पार्कनजिकैको अर्को डाँडामा विन्ध्यावासिनी मन्दिर अर्को धार्मिक पर्यटकीय क्षेत्र हो । यो मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । आमनागरिकको चाप बढ्दै जाँदा थप व्यवस्थित गर्नुपर्ने अवस्था भने देखिएको उपमेयर श्रेष्ठ बताउनुहुन्छ । कालु पाँडे समाधिस्थलनजिकै हिमाल र काठमाडौँ उपत्यका हेर्न दर्शनटुप्पो बनाइएको छ । प्राचीन इन्द्रदह व्यवस्थापन तथा हरियाली कायम गर्न पालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।
उक्त डाँडाबाट उत्तरपश्चिम फैलिएको गणेश हिमाल, लाङटाङ हिमालसँगैका हिमशृङ्खला दृश्यावलोकन गर्न पाइन्छ । सोही स्थानमा पर्यटकलाई केही दिन राख्ने उद्देश्यसहित नगरपालिकाले स्थानीयलाई घरबास सञ्चालनका लागि अग्रसर गराउन थालेको छ । स्थानीय उत्पादनसहित रमाउने सुविधा भविष्यमा दिइने नगरपालिकाले जनाएको छ । त्यहाँ पुग्न मुख्य सडक हुँदै नैकाप, सीतापाइला, बलम्बु, थानकोट, नागढुङ्गाको वाणभन्ज्याङ गाउँ हुँदै पैदल वा सवारीसाधनमा करिब एक घण्टामा पुग्न सकिन्छ । पैदल जाँदा भने करिब तीन घण्टाको यात्रा रहन्छ ।