• २१ पुस २०८२, सोमबार

हत्या आरोपमा चार युवा पक्राउ

blog

हत्या आरोपमा पक्राउपरेकाहरु ।

शेरबहादुर राई

ओखलढुङ्गा, पुस २० गते । ओखलढुङ्गामा घटेका दुईवटा विभत्स हत्या तथा लुटपाट घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले उनीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका –३ का २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिकाको वडा –४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर–८ का दोर्जे भनिने अशोक भुजेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार पहिलो घटना २०८२ असोज २६ गते राति करिब १२ बजे सिद्धिचरण नगरपालिका –४ चार्खुमा भएको थियो । 

स्थानीय ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) को घरमा प्रवेशगरी अभियुक्तहरूले धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए भने घरमा रहेको नगद तथा गरगहना लुटपाट गरेका थिए । 

यसैगरी, दोस्रो घटना चिशंखुगढी गाउँपालिका –६ भदौरेमा पाँच दिनअघि भएको थियो । ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरमाथि कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । अभियुक्तहरूले उनीहरूको घरबाट सुनचाँदी, नगद र मोबाइलसमेत लुटपाट गरेका थिए । 

प्रहरीले दुवै घटनामा संलग्न रहेको आरोपमा चारै जनालाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको जनाएको छ । पक्राउ परेकामाथि कर्तव्य ज्यान, डाँका तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा जिल्ला अदालत ओखलढुङ्गाबाट म्याद थपगरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईले बताउनुभयो । 

प्रहरीले उनीहरूको साथबाट हत्या तथा लुटपाटमा प्रयोग भएको चक्कु, ७.६५ एमएमका गोलीका खोका, मोबाइल, गरगहना तथा नगदसमेत बरामद गरेको जनाएको छ ।