रामकृष्ण बोहरा
बागलुङ, पुस २० गते । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आगामी चैतमा मिडिया मेला आयोजना गर्ने भएको छ । महासंघले आगामी चैत २० र २१ गते मिडिया मेला गर्ने तयारी थालेको अध्यक्ष राम थापा ‘अविरल’ ले जानकारी दिनुभयो । मेलालाई प्रभावकारी र लाभदायी बनाउन नविन सोच र उद्देश्यसाथ काम थालिएको थापाको भनाइ छ ।
महासंघले मेलाको कार्यविधि र गतिविधि तयारी गरिरहेको छ । प्रारम्भिक रुपमा प्रवचन कार्यक्रम, प्यानल डिस्कशन, बागलुङको पत्रकारिता र पत्रकारिताका विभिन्न आयाम, स्थानीय विकास र पर्यटनजस्ता विषय समावेश हुनेछन् ।
यो वर्ष महासंघको स्थापनाको रजत वर्ष पनि हो । तसर्थ रजत वर्षको अवसरमा ऐतिहासिक पुस्तक प्रकाशन गर्ने लक्ष्य पनि राखिएको छ । प्रकाशित पुस्तक विमोचन पनि सोही समयमा हुनेछ ।
बागलुङमा जन्मेर देशको विभिन्न स्थानमा रहेका पत्रकारको पुनरमिलन कार्यक्रम गर्ने ‘मिट एण्ड ग्रिट’ त्यो बागलुङ–यो बागलुङ तस्बिर प्रदर्शनी राख्ने पनि तय भएको छ । त्यसबाहेक सञ्चार सामग्री र उपकरण प्रदर्शनी, परम्परागतदेखि आधुनिक सामग्री उक्त बेलामा प्रदर्शनीमा राखिनेछ ।
यसअघि महासंघले ‘धौलागिरिको पत्रकारिता’ नामक पुस्तक प्रकाशित गरेर ऐतिहासिक पृष्ठभूमिबारे आम नागरिकलाई जानकारी गराउने र दस्तावेजीकरण गराइसकेको छ ।