अमरराज नहर्की
तनहुँ, पुस २० गते । तनहुँको बन्दीपुर गाउँपालिका–६, खहरेटारस्थित मिलिजुली युवा क्लबको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बुलिङटार समूहले जितेको छ ।
शनिबार सम्पन्न भएको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बुलिङटार समूहले उपाधिसहित नगद एक लाख रुपियाँ, ट्रफी र प्रमाणपत्र हात पारेको हो। प्रतियोगितामा आयोजक मिलिजुली समूह दोस्रो भएको छ । द्वितीय स्थान हासिल गर्ने टोलीले नगद ७० हजार रुपियाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
यसैगरी, कोईदिम समूहले तृतीय स्थान प्राप्त गर्दै नगद ४० हजार रुपियाँ पुरस्कार पाएको छ भने शुक्लागण्डकी नगरपालिका–१० स्थित मान्द्रे समूह सान्त्वना भयो ।
स्थानीय तथा बाह्य जिल्लाका गरी ३८ वटा टोलीको सहभागिता रहेको उक्त प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले गाउँस्तरमा हुने यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान गर्नुका साथै सामाजिक सद्भाव मजबुत बनाउन ठुलो मद्धत पुग्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले समुदायस्तरका खेलाडी नै भविष्यका राष्ट्रिय खेलाडी भएकाले उनीहरूको हौसला बढाउन र सम्मान गर्न स्थानीय तहहरू सदैव तत्पर रहनुपर्नेमा जोड दिनुभयो ।
क्लबका संयोजक सिद्धबहादुर थापाले प्रतियोगिताले स्थानीय खेलकुद विकासमा सकारात्मक प्रभाव पारेको बताउँदै आगामी वर्षहरूमा यसलाई अझ व्यवस्थित र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।