अमरराज नहर्की
तनहुँ, पुस २० गते । पृथ्वीराजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडक विस्तार योजना (पश्चिम खण्ड) को म्याद पुनः छ महिनाका लागि थप गरिएको छ । गत डिसेम्बर अन्त्यमा दोस्रो पटकको समय सीमा सकिएपछि निर्माण कम्पनीको आग्रहमा सडक विभागले आगामी विसं २०८३ असार १५ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरेको हो ।
मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार आयोजनाको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ । डिसेम्बरसम्म काम सक्ने लक्ष्य राखिए तापनि विद्युत् पोल, खानेपानी पाइप स्थानान्तरण र रुख कटानमा भएको ढिलाइका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसकेको उहाँले बताउनु भयो । आयोजनाका इन्जिनियर सहनशीला कायस्थका अनुसार जामुनेदेखि पोखराको सेती नदी पुलसम्मको ३८.८८ किमी खण्डमध्ये ३७ किमीमा प्रथम तह र ३४ किमीमा दोस्रो तहको कालोपत्रे सम्पन्न भइसकेको छ । अबको थपिएको अवधिमा चार र छ लेनका सम्पूर्ण काम, सडक मार्किङ र सुरक्षा ब्यारिएर राख्ने कार्यलाई पूर्णता दिइने लक्ष्य छ ।
यस खण्डको प्रगतिमा पुल निर्माणले पनि तीव्रता पाएको छ । पश्चिम खण्डका १२ मध्ये ११ वटा पुल निर्माण भइसकेका छन् भने सेती नदीमा बनिरहेको ’सिग्नेचर ब्रिज’ले ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेको छ । दैनिक करिब ६०० मजदुर खटिने यस आयोजनाले मासिक झन्डै १८ हजार मजदुरलाई रोजगारी दिइरहेको छ । संरचना सार्ने र मुआब्जा विवाद जस्ता केही अवरोधका बाबजुद समग्र प्रगति सन्तोषजनक रहेको योजना कार्यालयको दाबी छ ।
सन् २०२१ (विसं २०७८) देखि ७ अर्ब ४० करोडको लगानीमा सुरु भएको यो चिनियाँ ठेक्का पटक–पटक म्याद थपिँदा यात्रुले सास्ती खेप्नुपरे पनि हाल सडक स्तरोन्नतिका मुख्य अवरोध हटेका छन् । कालोपत्रेको काम अन्तिम चरणमा पुगेसँगै यात्रुहरूले विस्तारै सहज र सुरक्षित यात्राको अनुभव गर्न थालेका छन् । अब थपिएको ६ महिनाभित्रै आधुनिक मानक अनुसारको राजमार्ग तयार हुने विश्वास लिइएको छ ।