• १४ माघ २०८२, बुधबार

शीतलहरले मधेशको जनजीवन प्रभावित

blog

बर्दीबास-३, गौरीडाँडास्थित खुला मञ्चको चौरमा मुढा बालेर आगो ताप्दै स्थानीय । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, पुस २० गते । मधेश प्रदेशमा दुई दिनको मौसमी सुधारपछि फेरि शीतलहर सुरु भएको छ । पुस ४ गतेदेखि प्रकोपका रूपमा देखिएको शीतलहर केही दिन कमजोर भएसँगै जनजीवन लयमा फर्कन थालेको थियो । तर शनिबार अपरान्हदेखि पश्चिमा स्याँठ र बाक्लो कुहिरोसँगै शीतलहरको दोस्रो प्रकोप सुरु भएपछि जनजीवन फेरि प्रभावित भएको छ ।

दुई दिन मौसम खुलेर तापक्रम २५ डिग्रीसम्म पुगेपछि किसानहरू उखु काट्न व्यस्त थिए भने गृहिणीहरू बिस्कुन सुकाउने र कपडा धुने काममा लागेका थिए । बन्द विद्यालय धमाधम खुल्न थालेका थिए । 

यसैबिच शीतलहर पुनः बढेसँगै सर्वसाधारणको दैनिकी कठिन बन्दै गएको छ । सडक पेटी र चोक–चोकमा आगो ताप्नेको भीड बढ्न थालेको छ । भीडभाड बढदै गाएको हाट बजारको चहलपहल घटेको छ ।

शीतलहरको दोस्रो प्रकोपसँगै मौसमी तापक्रम  न्यूनतम ९ सम्म झरेको छ । जनस्वास्थ्य, कृषि र दैनिक जनजीवनमा चुनौती थपिएको छ । जलेश्वरस्थित प्रादेशिक अस्पतालका डा. विकास शाहका अनुसार चिसोका कारण अस्पतालमा रक्तचाप, कठ्याङ्ग्रिने, स्वासप्रश्वास, रुघाखोकी, न्यूमोनिया तथा भाइरल सङ्क्रमणका साथै पछिल्लो समय कोल्ड डायरियाका बिरामी पनि थपिन थालेका छन् । हाल दैनिक ७० जनाभन्दा बढी चिसोबाट पीडित बिरामी उपचारका लागि प्रादेशिक अस्पताल आउने गरेको डा. साहले जनाउनुभयो ।

यस्तै, बर्दीबास अस्पतालमा पनि चीसोका कारण हुने रुघाखोकी, न्यूमोनिया, दम, स्वासप्रश्वास र हाडजोर्नीसम्बन्धी समस्या लिएर दैनिक ७० जनाभन्दा बढी बिरामी आउने गरेका छन् । शीतलहर बढेसँगै मुटुसम्बन्धी समस्या भएका बिरामीको सङ्ख्या पनि दैनिक पाँचदेखि सात जनासम्म पुग्ने गरेको असपतलका डा. रितेश घिमिरेले बताउनुभयो ।

शीतलहरको असर कृषिमा समेत देखिन थालेको छ । कृषि ज्ञान केन्द्रका अनुसार चिसोका कारण आलु बालीमा ढुसीजन्य डढुवा रोग देखिन थालेको छ । समयमै नियन्त्रण नगरे आलु, गोलभेंडा, खोर्सानीजस्ता तरकारी बालीमा ठुलो क्षति पुग्न सक्ने चेतावनी दिइएको छ । साथै, लहरे तरकारीको बेर्ना राख्ने समयमा आवश्यक तापक्रम नपाउँदा फर्सी, लौका, घिरौला, काँक्रा, बोडी, तीते करैला र भिण्डीको बिउ टुसाउन नसकेको किसानहरूले बताएका छन् ।

जाडोबाट अति प्रभावित समुदायले आवश्यक सहयोगको प्रतीक्षामा छन् । सम्बद्ध निकायले भने जाडोमा सावधानी अपनाउन आवश्यक नपरे घरबाहिर ननिस्कन सुझाव दिएको छ ।