• २१ पुस २०८२, सोमबार

रञ्जन र रविनलाई कायक च्याम्पियनसिप उपाधि

blog

उपाधि विजेता खेलाडीहरू ।

काठमाडौँ, पुस २० गते । रञ्जन कँडेल र रविन चेपाङले प्रथम कायक च्याम्पियनसिपको उपाधि जित्नु भएको छ ।

त्रिशुली नदीको फिस्लिङमा भएको च्याम्पियनसिपमा रञ्जनले बोर्डरक्रस र रविनले फ्रिस्टाइल विधामा उपाधि जित्नु भएको हो । रञ्जन चीनको नुजियाङमा सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपका कांस्य पदक विजेता खेलाडी हुनु हुन्छ । 

हिमालय रिभर गाइड सङ्घको आयोजनामा भएको च्याम्पियनसिपको बोर्डर क्रस विधामा मोहन राना दोस्रो, लक्ष्मण गुरुङ तेस्रो, सुमन थापा चौथो र सविन गुरुङ पाँचौँ हुनु भयो । 

यसैगरी फ्रिस्टाइल विधामा अमृत थापा दोस्रो र मोहन राना तेस्रो स्थानमा रहनु भयो । यस विधाको ओभरल च्याम्पियन मोहन राना बन्नु भयो । च्याम्पियनसिपमा स्वर्ण विजेतालाई १५ हजार, रजतलाई १० हजार र कांस्य पदक विजेतालाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरियो । 

विजेतालाई नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ सङ्घका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, हिमालय रिभर गाइड सङ्घका अध्यक्ष डोलबहादुर गुरुङलगायतले पुरस्कार प्रदान गर्नु भयो ।

अध्यक्ष श्रेष्ठले चीनको नुजियाङमा भएको एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा नेपाली खेलाडीले हासिल गरेको सफलतामा यस्ता प्रतियोगिताले पनि ठुलो भूमिका खेलेको बताउँदै खेलाडीलाई निखार्न प्रतियोगिताहरू भइरहनु पर्नेमा जोड दिनु भयो ।