• २१ पुस २०८२, सोमबार

निर्वाचन सफल पार्नु सबैको साझा कर्तव्य हो :अध्यक्ष दाहाल

blog

संविधान कार्यान्वयनका दश वर्ष, उपलब्धि, समस्या, चुनौती र सुझाव नामक पुस्तक लोकार्पण गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत ।

काठमाडौँ, पुस २० गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आग्रह गर्नुभएको छ । 

प्रमुख दलका नेताले निर्वाचन हुनेमा आशंका गरिरहेका बेला उहाँले सो निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आह्वान गर्नुभएको हो । 

आइतबार काठमाडौँमा आयोजित संविधान कार्यान्वयनका दश वर्ष, उपलब्धि, समस्या, चुनौती र सुझाव नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनलाई सफल पार्नु सबै नेपालीको साझा कर्तव्य भएको समेत बताउनुभयो । 

उहाँले संविधानको आवश्यक समीक्षा गरी संशोधनका लागि इमान्दार भएर लाग्न पनि सबै राजनीतिक दलको ध्यानाकर्षण गराउनुभयो । 

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको समेत बताउनुभयो । 

उहाँले भन्नुभयो,‘जेन–जी आन्दोलनले उठाएका माग र सवालमा सबै पक्षको यथेष्ट ध्यान जानु जरुरी छ । साथै माग ११ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु हामी सबै नेपालीको साझा कर्तव्य हो ।’