• २१ पुस २०८२, सोमबार

अमेरिकी तेल कम्पनीले भेनेजुएलामा लगानी गर्न पाउने : ट्रम्प

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

अमेरिका, पुस २० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी तेल कम्पनीले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बताउनु भएको छ । 

यो घोषणा अमेरिकी सैन्य कारबाहीपछि आएको हो, जसमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्क सहर लगिएको थियो ।

अमेरिकी सेनाले शनिबार बिहान काराकासमा हवाई आक्रमण सञ्चालन गरेको थियो । मादुरो दम्पतिलाई नियन्त्रणमा लिएर उनीहरूमाथि लागु औषध तस्करी र हतियारसम्बन्धी मुद्दा चलाइएको छ ।

ट्रम्पले पत्रकार सम्मेलनमा भन्नुभयो,“विश्वकै ठुलो अमेरिकी तेल कम्पनीहरूले अरबौं डलर लगानी गरी तेल पूर्वाधार सुधार गर्ने छन् र यसबाट देशका लागि आम्दानी सिर्जना हुनेछ”, उहाँले थप्नु भयो, “भेनेजुएलाको तेलमाथि लागु गरिएको प्रतिबन्ध पूर्ण रूपमा कायम रहने छ ।”

संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा सन् २०१७ मा आर्थिक प्रतिबन्ध र २०१९ मा तेलमाथि प्रतिबन्ध लगाएको थियो । भेनेजुएला दैनिक १० लाख भन्दा कम ब्यारेल तेल उत्पादन गर्छ र यसको अधिकांश कालो बजारमा छूटमा बिक्री हुन्छ । 

ट्रम्पको भनाइ अनुसार, भेनेजुएलाले तेल आम्दानी ‘ड्रग आतङ्कवाद, मानव तस्करी, हत्या र अपहरण’मा खर्च गर्दैछ ।

उहाँको दोस्रो कार्यकालको सुरुवातमा २०२५ मा बहुराष्ट्रिय तेल कम्पनीले भेनेजुएलामा सञ्चालन गर्ने अनुमति दिने लाइसेन्स समाप्त गरिएको थियो । यस क्रममा अमेरिकी कम्पनी चेभ्रोनलाई मात्र विशेष अनुमति दिइएको थियो । चेभ्रोन भेनेजुएलामा राज्य स्वामित्वको पिडिभीएसएसँग साझेदारीमा चार तेल क्षेत्र सञ्चालन गर्दै आएको छ ।

संयुक्त राज्यले प्रतिबन्धित ट्याङ्करहरूको भेनेजुएलासँगको व्यापारमा पनि पूर्ण रोक लगाएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइएईए)का अनुसार भेनेजुएलामा विश्वका तेल भण्डारको करिब १७ प्रतिशत रहेको छ । 

वर्षौंदेखि व्यवस्थापन र भ्रष्टाचारका कारण देश प्रमुख तेल उत्पादक बन्न सकेको छैन ।

विश्लेषकहरूका अनुसार भेनेजुएलाको तेल गुणस्तर कम रहेको र अधिकांश डिजल वा अन्य उपउत्पादनमा प्रयोग हुने भएकोले अमेरिकामा गल्फ अफ मेक्सिको आसपासका रिफाइनरीहरू यस तेललाई प्रशोधन गर्न विशेष डिजाइन गरिएका छन् । (रासस /एएफपी)