तनहुँ, पुस २० गते । व्यास नगरपालिका–१, रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमा व्यावसायिक कुखुरापालनमा रमाउनु भएको छ । दुबईमा १७ वर्षसम्म जागिर गरी स्वदेश फर्किएर उहाँले कुखुरापालनबाट विदेशमा भन्दा राम्रो कमाइ गर्दै आउनु भएको हो ।
कुखुराको अण्डा बिक्री गरेर मासिक एक लाख आम्दानी लिँदै आएको उहाँले बताउनु भयो । विदेशमा रहँदा कोरोनाका समयमा बुवाको निधन भएको नौ महिनापछि घर फर्किनु भएका बस्नेतले पाँच वर्षअघि यो व्यवसाय सुरु गर्नु भएको थियो । विदेशमा पाएको आम्दानीभन्दा स्वदेशमा बसेर दोब्बर कमाइ गर्न सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गर्न सफल भएका छन् ।
उहाँले सञ्चालन गर्दै आउनु भएको ‘बस्नेत ब्रोइलर पोल्ट्री एन्ड एग फार्म’मा हाल दुई हजार लेयर्स कुखुरा छन् । सुरुमा रु ३० लाख लगानीमा छ रोपनीमा दुई आधुनिक ट्रस्ट निर्माण गरी व्यावसायिक रूपमा कुखुरापालन व्यवसाय सुरु गर्नुभएका बस्नेतले राम्रो आम्दानी गर्दै आउनु भएको छ ।
दैनिक एक हजार ८०० अण्डा उत्पादन हुने यो फार्मबाट महिनामा पाँच लाख बढीको कारोबार हुने गरेको छ । दाना, औषधी तथा श्रम खर्च कटाएर एक लाखभन्दा आम्दानी हात पर्न थालेको बस्नेतले बताउनु भयो । उहाँले भन्नु भयो, “दुबईमा महिनामा रु ६० हजार आउँथ्यो, अहिले गाउँमै परिवारको साथमा बसेर विदेशको भन्दा दोब्बर फाइदा भइरहेको छ ।”
कुखुरा व्यवसायबाट उत्पादन हुने ठुला दाना (क्रेड) स्थानीय बजारमा प्रतिथान ५०० मा बिक्री हुँदै आएका छन् । जोखिमयुक्त मानिने कुखुरापालनमा किसानलाई टिकाइराख्न सरकारले दाना उत्पादनमा प्रत्यक्ष अनुदान दिनुपर्नेमा बस्नेतको जोड छ । “पूर्वाधारमा मात्र अनुदान दिएर काम हुँदैन । दानामा सहयोग भयो भने किसान टिकाउ हुन्छन्, राज्यको लगानी पनि सुरक्षित हुने”, उहाँले भन्नु भयो ।
श्रीमती मधुमाया बस्नेतको निरन्तर साथमा फार्म चलाउनु भएका अर्जुन भन्नु हुन्छ, “कुखुराको मल प्रयोग गरेदेखि तोरी पनि राम्रो फलेको छ कि तेल किन्नु परेको छैन, तरकारी पनि बजारबाट ल्याउनु परेको छैन ।” व्यास नगरपालिकाले इनार निर्माणका लागि २५ हजार र कुखुरा खरिदका लागि ५० हजार गरी ७५ हजार सहयोग गरेको व्यास–१ का वडासदस्य मणिजङ्ग बस्नेतले बताउनु भयो ।
चितवनबाट चल्ला ल्याएर सुरु गरिएको यो व्यवसाय अहिले गाउँमै रोजगारी, आम्दानी र आत्मनिर्भरता अभिवृद्धिको उदाहरण बन्ने गरेको छ । विदेशमै भविष्य खोज्नुपर्ने बाध्यता हटाउँदै गाउँमै बसेर स्थिर आम्दानी गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश बस्नेतको सफलताले दिएको कार्कीले बताउनु भयो । रासस