• २३ पुस २०८२, बुधबार

पर्यकीय क्षेत्रमा लगानी गर्ने उद्योगी व्यवसायीको योजना

blog

पञ्चकोटको अवलोकन गर्नु हुँदै उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशी, सुरज वैद्य र भास्कर राज राजकर्णिकारलगायत टोली । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, पुस २० गते । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षहरूले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा लगानी बढाउने सङ्केत गर्नु भएको छ । उहाँहरूले यहाँका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेर सम्भावित लगानी र पर्यटन प्रवर्धन, धार्मिक क्षेत्रको उत्थान समेत गर्ने योजना सुनाउनु भयो । 

शनिबार महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशी, सुरज वैद्य र भास्कर राज राजकर्णिकारले बागलुङको पञ्चकोट, मालिका लगायतका क्षेत्रको भ्रमण गरेर लगानीको सम्भावना र आफ्ना चाहनाहरू प्रकट गर्नुभएको हो । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठको निमन्त्रणमा उहाँहरू आउनु भएको हो । आफ्नो नियमित भ्रमणसँगै श्रेष्ठको आग्रहले उहाँहरूले यी क्षेत्रमा भ्रमण गरेको बताउनु भयो । 

‘‘हामीले यो क्षेत्रको धार्मिक उत्थान, पर्यटकीय सम्भावनाको विकास गर्ने र जनतालाई उत्पादनमा लगाउने खालको केही न केही लगानी गरौं भन्ने लक्ष्य राखेका छौं,’’ पूर्व अध्यक्ष जोशीले भन्नुभयो, ‘त्यसका लागि यो क्षेत्र उपयोगी छ ।’’ चिसो हावापानी, हिमाल देखिने र सडक यातायातले जोडिएकोले ती क्षेत्रमा लगानी गर्दा युवा पलायन रोकिने, पर्यटकीय क्षेत्रको प्रभावले स्थानीय तहले विकास गर्न र आयश्रोत बढाउन सक्ने उहाँको भनाइ थियो । 

अर्का पूर्व अध्यक्ष सुरज वैद्यले धार्मिक आस्था समेत राख्ने व्यक्ति भएकोले धार्मिक क्षेत्रमै लगानी गर्न खोजेको बताउनु भयो । उहाँले देशमा लगानीमैत्री वातावरण चाहिने भन्दै राज्यले वातावरण बनाउन सकेमा उद्योग, व्यवसाय र पर्यटन क्षेत्रमा प्रसस्त लगानी गर्ने वैद्यको भनाइ थियो । पुर्व अध्यक्ष राजकर्णिकारले बागलुङ धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रले महत्त्वपूर्ण भएकोले सबैको लगानीको साझा लक्ष्य बनाइएको बताउनु भयो । 

कस्तो खालको व्यवसायमा लगानी गर्ने भन्ने उहाँहरूले खुलाउनु भएको छैन । पर्यटन प्रवर्धन भने उहाँहरूको लक्ष्य रहेकोले सोही प्रकृतिको हुन सक्ने बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनु भयो । पर्यटकीय आर्कषकको गन्तव्य बन्ने बित्तिकै बागलुङको व्यवसायमा चहलपहल बढ्ने भएकाले पुर्व अध्यक्षहरूलाई बोलाएको उहाँको भनाइ छ । 

बागलुङ उद्योग वाणिज्य सङ्घका पुर्व अध्यक्ष समेत रहनु भएका नगर प्रमुख श्रेष्ठले व्यवसायिक क्षेत्रमा सफल नगर बनाउने चाहना राखे पनि लगानीको वातावरण र अवसर नभएकोले अलमल परेको बताउँदै आउनु भएको छ । नगरपालिकाको अगुवाईमा पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि क्युआर कोड बनाउने, पर्यटन लोगो र नारा बनाउने काम भने पर्यटन समितिमार्फत भइसकेको छ । 

बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवदेखि चैतेदशैं मेला र समय समयमा हुने धार्मिक र सांस्कृतिक मेला महोत्सवलाई अबका दिनमा अन्य उद्यम व्यवसाय र उद्योगधन्दा समेत खोलेर आम नागरिकलाई रोजगारमा जोड्ने श्रेष्ठको लक्ष्य छ ।