धर्बेन्द्र झा
जनकपुरधाम, पुस २० गते । नेकपा एमालेका उपमहासचिव एवम पूर्व उपप्रधान मन्त्री रघुविर महासेठले अझै पनि देशमा चुनावी वातावरण तयार हुन नसकेको भन्दै निर्धारित फागुन २१ गते चुनाव गराउनका लागि सरकारले वातावरण तयार गर्नुपर्ने धारणा राख्नु भएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित आफ्नै निवासमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
उहाँले जानी अनजानीमा वर्तमान सरकारले नै निर्वाचन बिथोल्ने काममा लागेको कारण फागुन २१ गते निर्वाचन हुने विषयमा शङ्का व्यक्त गर्नुभयोे । उहाँले भन्नुभयो, "जेनजी आन्दोलनको क्रममा लुटिएका ५० प्रतिशत हतियारहरू अझै फिर्ता भएको छैन । आन्दोलनको क्रममा जेल बाहिर भागेका बहुसङ्ख्यक कैदीबन्दीहरू अझै जेल भित्र गएको छैन । यस्तो अवस्थामा चुनाव हुन्छ भनेमा कति विश्वास गर्न सकिन्छ तपाईंहरू आफै बुझ्नुस ।"
उपमहासचिव महासेठले नेकपा एमाले सुरुदेखि नै प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा रहेको भन्दै चुनाव भएको खण्डमा एमाले चुनावबाट पछि नभाग्ने बताउनु भयो । उहाँले संविधान अहिले ट्रयाक भन्दा बाहिर गएको भन्दै सविधानलाई ट्रयाकमा ल्याउने विषमा नेकपा एमाले विभिन्न दलसँग छलफलको क्रममा रहेको बताउनु भयो । उहाँले नेकपा एमालेले संसद पुर्न स्थापनाको विषयमा विगतमा अदालतबाट भएको आदेश अनुसार नै यस पटक पनि आदेश हुने विषयमा विश्वस्त रहेको भन्दै अहिले नेकपा एमाले सर्वोच्च अदालतको आदेशको पर्खाइमा रहेको बताउनु भयो ।
उहाँले गठबन्धनको नाँउमा बाहिरी शक्तिहरूले अराजनीतिक व्यक्तिहरूलाई अगाडि ल्याएर स्थापित पार्टीहरूलाई विस्थापित गर्न खोजी रहेको छ त्यो नेपालमा सम्भव नरहेको बताउनु भयो । उहाँले नेपालमा विगतमा अन्तरिम सरकारहरू सफल रहेको इतिहास रहे पनि वर्तमान अन्तरिम सरकार सफल होला जस्तो आफुलाई नलागेको भन्दै चुनावी सरकारका मन्त्रीहरू आफनो नैतिकता बेचेर राजनीतिक क्रियाकलापमा संलग्न रहेकोले त्यस्ता मन्त्रीले या त राजनीनामा दिनु पर्ने वा त्यस्तालाई प्रधानमन्त्रीले बर्खास्त गर्नु पर्ने समेत उल्लेख गर्नु भयो ।
यस्तै, उहाँले आफनो पार्टीले देशको जुन सुकै ठाँउबाट चुनाव लडाउन खोज्दा आफु तयार रहेको भए पनि धनुषा क्षेत्र नं.४ का जनताले विगतमा पटक पटक चुनाव जिताएको कारण आफनो व्यक्तिगत रोजाई धनुषा क्षेत्र नं.४ नै रहने प्रष्ट पार्नु भयो । पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य जुलीकुमारी महतोले धनुषा क्षेत्र नं.३ का जनताले विगतमा पनि पाँच सालका लागि निर्वाचित गराएको भन्दै यस पटक पनि सो क्षेत्रका नेता कार्यकर्ताले आफनो नाम सिफारिस गरेको कारण पार्टीले टिकट दिएमा धनुषा क्षेत्र नं.३ बाटै चुनाव लडने बताउनु भयो ।