• २१ पुस २०८२, सोमबार

प्रस्ताव आए मिल्न तयार : सहसंयोजक नेपाल

blog

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपाल । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) पुस २० गते ।
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलेर अगाडि बढ्न सकिने बताउनुभएको छ । आइतबार नेपाली कम्युनिष्ट पार्टी धनकुटाले आयोजना गरेको पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै सहसंयोजक नेपाललले यस्तो बताउनुभएको हो ।

उहाँले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् पछिल्लो राजनैतिक घटनाक्रमले आगामी चुनावमा चुनौती रहेकाले प्रस्ताव आए ठुला दलसँग मिलेर अगाडि बढ्न तयार रहेको बताउनुभयो  । त्यसका लागि निर्णायक दुई ठुला दलको भूमिका रहेको बताउँदै उहाँले त्यसका लागि आफू तयार रहेको धारण व्यक्त गर्नुभयो । तर एउटा जता ढल्यो त्यतै जानेभन्दा पनि सबैलाई सहज ढङ्गले एकबद्धता भएर अगाडि लिएर बढ्दा उचित हुने उहाँको भनाइ छ ।

अरेका भरमा सत्यतथ्य नबुझी हाहा र हुहुको भरमा अगाडि जान खोज्नुभन्दा बुझेर राजनीतिमा पाइला चाल्नु उचित रहेको बताउँदै आफ्नो पार्टी एकतामा लागेको  उहाँको भनाइ छ ।

यस्तै, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको माग जायज थिए, तर घुसपैठका कारण देशको स्थिति भयानक भएको उहाँले बताउनुभयो ।

सयौं हातहतिया लुटिएका छन्, प्रहरी प्रशासनका भवन जालाइएको छ, चुनाव सम्भव छ ? भन्ने प्रश्नमा उहाँले सबै सुरक्षा निकायसँग छलफल र कुराकानी भइरहेको बताउँदै सामान्य अवस्था छ, चुनाव हुने बताउनुभयो ।

उहाँले संसद् पुनःस्थापना अदालतबाट आदेश फौसला र विशेष परिस्थितिमा हुने बताउँदै चुनावको विकल्प नरहेको बताउनुभयो । गणतन्त्र, सङ्घीयताको रक्षा गर्न चुनाव तोकिएकै मितिमा हुनुपर्ने जिकिर गर्नुभयो ।

पूर्वमन्त्री तथा पार्टीका सह–संयोजक नेपाल पार्टी एकता सभालाई सम्बोधन गर्न सङ्खुवासभा हुँदै शनिबार धनकुटा आउनुभएको थियो । उहाँ आइतबार इटहरीमा हुने एकता सभाको सम्बोधन सकेर काठामाडौँ फर्किने कार्यक्रम रहेको पार्टीले जनाएको छ  ।