पश्चिम नवलपरासी समाचारदाता
पश्चिम नवलपरासी, पुस २० गते । हिउँदे बाली सिँचाइका लागि गण्डक पश्चिमी नहरमा पानी छाडिएको छ । नारायणी नदीमा बनाइएको त्रिवेणीस्थित गण्डक बाँधबाट पश्चिम नवलपरासीका विभिन्न क्षेत्र सिँचाइका लागि बनाइएको नहरमा गत साताबाट पानी छाडिएको गण्डक नहर व्यवस्थापन कार्यालय नवलपरासीका प्रमुख तिलकराम बुढाथोकीले जानकारी दिनुभयो । त्रिवेणीमा नहरको मुखमा बालुवा थिग्य्राउने पोखरी निर्माण गरेपछि यस वर्ष नहरमा बालुवा भरिने समस्या कम भएकाले सहज रूपमा पानी आएको छ । जसबाट गहुँ, तोरी, तरकारीलगायतका हिउँदेबाली सिँचाइका लागि सहज हुने छ । हाल नहरमा ८.५ मिटर क्युब प्रतिसेकेन्ड पानी आइरहेको कुरा उहाँले जानकारी दिनुभयो ।
गण्डक बाँधबाट ३२ किलोमिटर लम्बाइ रहेको नहरको पानीबाट पश्चिम नवलपरासीका छ वटा स्थानीय तहका सात हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्दै आएको छ तर अझै पनि नहरको मर्मतसम्भार पूरा नहुँदा भने नहरमा पर्याप्त मात्रामा पानी आउन सकेको छैन । विभिन्न शाखा कन्ट्रोल प्यानल र सानाठुला कुलासमेत मर्मत हुन सकेका छैनन् । बर्र्सेनि मर्मतको नाममा रकम खर्च हुने गरे पनि काम पूरा हुन सकेको छैन । चालु आर्थिक वर्षमा पनि झन्डै छ करोड रुपियाँ बराबरको नहर मर्मतसम्भारका लागि ठेक्का आह्वान भएको छ । विशेष गरी शाखा नहरको मर्मतसम्भार गर्ने गरी ठेक्का आह्वान गरिएको बुढाथोकीले जानकारी दिनुभयो ।
गत आवमा बालुवा थिग्य्राउने प्रविधिको निर्माण गरिएको थियो । नारायणी नदीस्थित नहरको नियन्त्रण क्षेत्रमा बालुवाले नहर नभरियोस् भनेर बालुवा थिग्य्राउने पोखरी तयार गरिएको हो । यसरी बालुवा नथिग्य्राउँदा नहरको पानीसँगै किसानको खेतसम्म बालुवा पुग्ने गरेको र खेतको उर्वराशक्ति घट्दै गएकोले किसान चिन्तित हुने गरेका छन् ।